
काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारद्वारा प्रकाशित उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो ।

१७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको हो । नेपाल लिपिमा उपलब्ध संस्कृत भाषाको तान्त्रिक वाङ्मयलाई नेपाली भाषामा प्रस्तुत गर्ने यस कार्यले प्राचीन ज्ञानपरम्पराको अध्ययन, अनुसन्धान र प्राज्ञिक विमर्शलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’मा तन्त्रदर्शन, साधना तथा परम्परागत ज्ञानसम्बन्धी विषय समेटिएका छन् । यसको नेपाली अनुवादले संस्कृत तथा नेपाल लिपिमा सीमित रहेको तान्त्रिक साहित्यलाई नेपाली भाषाका पाठक, अध्येता र अनुसन्धानकर्ताको पहुँचमा पुर्याउन सहयोग गर्ने विश्वास गरिएको छ ।
ग्रन्थ अर्पण कार्यक्रममा तन्त्रविद् महेश्वरजुजु राजोपाध्याय, पूर्वकुमारी चनिरा वज्राचार्य, तन्त्रविद् प्रा. डा. रत्न शम्शेर ज.ब.रा. लगायत विद्वान् तथा धार्मिक–सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


