Nepal Purbadhar

पुनःस्थापनामा सरकारी ढिलासुस्तीले अलपत्र परे भोटेकोशीका बाढीपीडित, आश्रयस्थल छोड्दै


काठमाडौं। काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रय लिइरहेका भोटेकोशीका बाढीपीडितले गुम्बा छोड्न थालेका छन्। गुम्बा व्यवस्थापनले लामो समय भइसकेको भन्दै अब आफ्नै व्यवस्थापन गर्न आग्रह गरेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन्।

गुम्बा छोडेका बाढीपीडित तत्कालका लागि काठमाडौंमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन्। सरकारले बासस्थानको व्यवस्था नगरे पनि टिमुरेमाथि खैदे डाँडामा आफैं बसोबासको व्यवस्था गर्ने उनीहरूको भनाइ छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेका पेमा दोर्जे घलेले सरकारले दुई महिनासम्म पनि अस्थायी बासस्थानको व्यवस्था गर्न कुनै योजना नल्याएको गुनासो गरे। ‘हुनेले त कोठा लिएर बस्यो होला। नहुने पीडित पनि धेरै छन्। यत्तिको समयसम्म सरकारले ध्यान दिएर अस्थायी बसोबासको व्यवस्था गरिदिनुपर्ने हो। सरकारबाट कुनै जानकारी आएको छैन,’ उनले भने।

बाढीपीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ एकपटक गुम्बा पुगेका थिए। त्यसक्रममा उनले काठमाडौंमै अस्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिएको घलेले बताए। तर, आफूहरू गुम्बा छोड्नुपर्ने अवस्थामा पुग्दासमेत सरकारले बेवास्ता गरेको उनको गुनासो छ।

‘गृहमन्त्री पनि आउनुभएको थियो। तपाईंहरूले चिन्ता लिनुपर्दैन, तपाईंहरूलाई काठमाडौंमा अस्थायी बसोबासको व्यवस्था गर्छौं भन्नुभएको थियो,’ उनले आक्रोश व्यक्त गर्दै प्रश्न गरे, ‘खोइ? कहाँ गर्नुभयो? एकदिन आउनुभयो, पछि उहाँ आउनु पनि भएन। अब त हामी गुम्बाबाट पनि निस्कनुपर्ने परिस्थिति भइसक्यो।’

बाढीमा आफन्त र सम्पत्ति गुमाउनुपरेको तथा त्यसपछि बेघरबार हुनुपर्दा थप पीडा भोग्नुपरेको उनले बताए। सरकारले १५ हजार रुपैयाँ दिएको भए पनि त्यसले कोठाभाडा तिर्ने कि रासन किन्ने भन्ने समस्या रहेको उनको भनाइ छ। उनले बसोबास, रासन र गाउँसम्म पुग्ने सडकको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे।

‘रासनसम्बन्धी विषयमा सरकारले ध्यान दिनुपर्‍यो। यति महिनाका लागि तिमीहरू रासनको चिन्ता नगर भनेर समय तोकिदिनुपर्‍यो। नभए अन्तिम विकल्प भनेको हामी पनि माइतीघरमा बस्न जानुपर्ने हो कि जस्तो लागेको छ,’ उनले भने।

बाढी प्रभावित क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले वन-जंगलको उपयोग गर्नसमेत समस्या रहेको घलेले बताए। वनमन्त्री र कानुनमन्त्रीसहित सरोकारवाला निकायबीच सहमति गरेर प्रभावित क्षेत्रका लागि निकुञ्जका निश्चित नियम खुकुलो बनाउन उनले सरकारसँग आग्रह गरे। दुई महिनासम्म मुस्ताङ गुम्बा र लायन्स क्लबले गासबासको व्यवस्था गरिदिएकोमा उनले धन्यवाद दिए।

अर्का बाढीपीडित कामी नुर्बु तामाङले ९० प्रतिशत बाढीपीडित काठमाडौंमा बस्न नसक्ने बताए। सरकारले पुनःस्थापनाको योजना ल्याउने आशासहित आफूहरू गाउँ फर्कन लागेको उनले सुनाए।

‘सिस्नो-ढिँडो खाऊँला, खेती-किसानी गरौँला, हिजोजस्तै पशुपालन गरौँला। त्यहीँबाट उत्पादन भएको कुरा खाएर बाँचौँला र सरकारले आगामी दिनमा केही व्यवस्थापन गर्ला भन्ने आशाका साथ हामी जाँदै छौँ,’ उनले भने।

सरकारले आफूहरूलाई सधैँ आश्रय दिएर अल्छी बनाउनेभन्दा कृषि, पशुपालन र उत्पादनमूलक काममा जोड्नुपर्ने उनको भनाइ छ। चीनको उदाहरण दिँदै उनले भने, ‘म चीनसँगको सीमामा जन्मिएँ। चीनले कर्ममा विश्वास राख्छ। हामी पनि श्रम गर्छौं। अब राज्यले कृषि, पशुपालनमा कसरी जोड्न सकिन्छ भनेर त्यसमा निर्णय गर्नुपर्छ।’

घरबास, गाउँसम्म पुग्ने सडक र रोजगारीको व्यवस्था नहुँदा भविष्यको चिन्ताले सताएको तामाङले बताए। आगामी दिन अहिलेभन्दा थप पीडादायी हुन सक्ने उनको अनुमान छ। सरकारले व्यवस्थापन गर्न नसक्ने भए विभिन्न संघसंस्थाले सहयोग गर्न सक्ने वातावरण बनाइदिन उनले आग्रह गरे।

मुस्ताङ गुम्बामा २०७ जना पुरुष र २०४ जना महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए। तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा थिए। टिमुरेबाट उद्धार गरिएका पीडित सुरुका १० दिन यल्लो गुम्बामा बसेका थिए। त्यसपछि उनीहरूलाई मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

२० निर्माण व्यवसायी कालोसूचीमा, पाँच कम्पनीलाई दुई वर्षको प्रतिबन्ध

Read Next

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा, मूल्य प्रतिकिलो २ हजार २०० सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar