Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी नेपालको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय


काठमाडौं । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन अनुसार गठन भएको संस्कृति तथा पर्यटन क्षेत्रको विषयगत समितिको बैठकले बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्न सक्ने किसिमको जलवायु तथा मौसमी विविधता रहेकोले त्यसैअनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै, प्रत्येक प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षक र महत्वपूर्ण रहेका स्थानहरुको ब्राण्डिङ गरी पर्यटकीय गन्तव्यहरुको विविधीकरणमा जोड दिइनेछ । पर्यटन क्षेत्रसँग सम्बन्धित साझा अधिकारका विषयहरु, नेपाल सरकारबाट स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदन र सङ्घ, प्रदेश र स्थानीय तहबीच एकरुपता कायम गर्नुपर्ने नीतिगत विषयहरुका सम्बन्धमा पनि बैठकमा छलफल भएको छ ।

नेपालको पर्यटनलाई पुनरुत्थान गर्दै राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा स्थापित गर्न ‘नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान कार्ययोजना, २०७९’ लाई सहकार्यात्मक एवम् समन्वयात्मक तवरले कार्यान्वयन गर्ने समितिका सदस्यले प्रतिबद्धता गरेका छन् ।

क्षेत्रगत योजना, नीति तथा कार्यक्रम र रणनीतिहरुको कार्यान्वयनमा प्रभावकारिता ल्याउन सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको आपसी सहकार्यलाई सबल र गतिशील बनाउने विषयमा सहभागी सहमति भएका छन् । सङ्घीय व्यवस्था बमोजिम ‘पर्यटन नीति, २०६५’ को समसामयिक परिमार्जन र राष्ट्रिय रणनीतिको तर्जुमा गर्दै पर्यटन दशक (२०२३–२०३३) को घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

निजी क्षेत्रलाइ पर्यटन व्यवसायमा लगानीका निम्ति विभिन्न सहुलियत तथा सेवा सुविधाहरु प्रदान गर्न अन्तर निकाय समन्वयलाई निरन्तरता दिइने निर्णय समितिले गरेको छ । ग्रामीण पर्यटनको विकासका निम्ति सामुदायिक सहभागितालाई प्रवद्र्धन गर्ने निर्णय भएको छ ।

समितिले साधन स्रोतको न्यायोचित वितरण गर्दै प्रादेशिक सन्तुलन सहितको पर्यटन क्षेत्रको दिगो विकासलाई सबै तहले आत्मसात गर्ने, विदेशी पर्यटकहरुको नेपाल प्रवेशमा सहजीकरण गर्न सीमा क्षेत्रमा हुने चेकजाँचलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयनमा तीनै तहले आपसी सहयोग र सहकार्य गर्ने निर्णय समेत भएको छ ।

शनिवार बसेको बैठकमा प्रदेश सरकारका पर्यटन क्षेत्रसँग सम्बन्धित मन्त्रीहरु, पोखरा महानगरपालिकाका प्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, मन्त्रलयका महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु, प्रदेश सरकारका क्षेत्रसँग सम्बन्धित मन्त्रालयका सचिवहरु, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


Read Previous

८५ दिनमा ६ अर्बको बिजुली बेच्यौंः कार्यकारी निर्देशक कुलमान घिसिङ

Read Next

तीन खर्बको बुढीगण्डकीमा ६० लाख जम्मा गर्न नसक्दा कम्पनी स्थापनामै ढिलाई

Leave a Reply

Your email address will not be published.