Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौंमा साझाका ३ विजुली बस सञ्चालनमा, साउनमा थप ३७ बस भित्रिदै


काठमाडौं । साझा यातायातले विहीबारदेखि काठमाडौं उपत्यकामा ३ विद्युतिय बस सञ्चालनमा ल्याएको छ ।

शुरुवाती परिक्षणको रुपमा ३ बस सञ्चालन ल्याएको हो । थप ३७ बस साउन मसान्तसम्म भित्रिने योजना रहेको साझाले जानकारी दिएको छ । विहीबारदेखि सञ्चालन थालिएका ३ वटा विद्युतीय बसको ‘सफ्ट लञ्च’ ८५ वर्षिय साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले गरे ।

सञ्चालनमा आएका बस २०७८ वैशाख दोस्रो हप्ता काठमाडौं भित्रिएका थिए । त्यसपछि बागमति प्रदेश यातायात कार्यालयको विज्ञ टोलीले विस्तृत अध्ययन गरि सञ्चालनको लागि असार २ मा स्विकृति पत्र दिएको थियो । साझा यातायात सञ्चालक समितिको ७ असारको निर्णय अनुसार बस स्विकार गरी यातायात कार्यालयमा दर्ता भई नियमानुसार बाटो इजाजत लिई विद्युतिय बस सेवा शुभारम्भ गरिएको हो ।

यी विद्युतिय बस नयांबसपार्क–बालाजु ठमेल रत्नपार्क – सिंहदरवार – बानेश्वर – मिनभवन हुदै एयरपोर्टमा २ बस सञ्चालन हुने छन् । त्यस्तै, लगनखेल–लैनचौर–बांसबारी हुदै बुढानिलकण्ठ १ बस सञ्चालन हुदैछ । महिला चालक र सहचालकलाई प्रशिक्षण दिई यी बस सञ्चालनमा ल्याइएको हो ।

ब्याट्रिबाट चल्ने बस प्रविधि नयां भएकोले साझा यातायातले तिन चरणमा विद्युतिय सवारी भित्राउने योजना बनाएको छ । पहिलो चरणमा अन्तराष्ट्रिय बोलपत्र आव्हान गरि ८ दशमलव ५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन । जुन चिनको नानजिङ्ग शहर स्थित सिएचटिसि कम्पनीको उत्पादन गरेको हो ।

दोश्रो चरणमा १० देखि १२ मिटर लम्बाईको विद्युतिय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रकृया अगाडि बढाइसकेको साझाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सरकारले विद्युतिय परिवहन प्रवर्दन गर्न यसअघि नै साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

सरकारको कारण १६ महिना ढिलाई

सरकारले विजुली बस खरिद गर्न भनि साझा यातायात सहकारीमा २०७६ आषाढ ३१ मा ३ अर्व रुपैयाँ लगानी गरेको थियो । त्यसपछि साझा यातायातको विशेषज्ञ टोलिले तत्कालै अनुसन्धान थाल्यो । सो काम थालिएको २८ दिन नपुग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सबै कार्य स्थगित गर्नु भन्ने पत्र आए पछि पुरै प्रकृया रोकियो ।

१६ महिनाको अवधि पश्चात सरकारले साझा यातायातलाई २०७७ फागुण २ को मन्त्रालयको पत्र अनुसार अवरोध हटाए पछि विज्ञ टोलिले काम फेरी अगाडि बढायो र अन्तर्राष्ट्रिय बोलपत्रद्धारा खरिद प्रकृया शुरु गरिएको थियो ।

चार्जिङ स्टेशनको लागि जग्गाको माग

विजुली बसका लागि ठुलो क्षेत्रफल भएको चार्जिङ्ग स्टेशन आवश्यक पर्छ । आवश्यक जग्गा उपलब्ध गराउन साझाले सरकारसँग अनुरोध गरिसकेको छ । साझा यातायात अध्यक्ष कनकमणि दीक्षितका अनुसार यथाशिघ्र चार्जिङ्ग स्टेशनको लागि जग्गा उपलब्ध हुनेमा साझा आशावादी छ । निजी क्षेत्रले सार्वजनिक यातायातको ठुलो हिस्सा ओगटेको कारण सरकारले यस क्षेत्रलाई विजुली बस सञ्चालनमा ल्याउन सम्भव तुल्याउन सहुलियत ऋण उपलब्ध गराउनु पर्छ भन्ने साझाको भनाइ छ ।


Read Previous

मौद्रित नीतिमा समेट्न सिबिफिनका यस्ता छन् २७ बुँदे सुझाव, पूर्वाधार बैंकले लगानी रकम निक्षेपमा राख्न पाउनुपर्ने

Read Next

सिमरा सोलार आयोजनाकाे १ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

Leave a Reply

Your email address will not be published.