Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

सिमरा सोलार आयोजनाकाे १ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो


काठमाडौं ।अपि पावर कम्पनीले बारामा निर्माण गरेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । व्यवससायिक विद्युत उत्पादन गर्ने उद्देश्यले बाराको जितपुर सिमारा उप–महानगरपालिकामा निर्माण सम्पन्न सौर्य विद्युत आयोजना बिहीबार साँझबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

निर्माण सुरु भएको ६ महिनामा आयोजना सम्पन्न भई प्रसारण प्रणालीमा जोड्न सफल भएको प्रवर्द्धक कम्पनीले जनाएको छ । कम्पनीका अनुसार श्रीनेपाल राष्ट्रिय माध्ययामिक विद्यालयको जग्गामा निर्माण गरिएको सौर्य विद्युत आयोजनाको विद्युत ११ केभी वितरण लाइनमा ट्यापिङ गरी प्रसारण प्रणालीमा जाेडिएकाे छ ।

सुरुमा आयोजना स्थलबाट १२ किलाेमिटर दुरीमा रहेकाे सिमरा सबस्टेसनमा जाेड्ने गरी सम्झाैता भए पनि नेपाल  विद्युत प्राधिकरणकाे सुझावअनुसार ११ केभी लाइनमा ट्यापिङ गरेर जाेडिएकाे हाे । ११ केभीमा ट्यापिङ गरेर साैर्य विद्युत आयोजनाकाे १ मेगावाट जाेड्दा स्थानीय क्षेत्रकाे  विद्युत वितरण प्रणालीमा सुधार आएकाे छ । यसअघि यस क्षेत्रमा भाेल्टेजकाे समस्या थियाे ।

विद्युत प्राधिकरणको प्राविधिक टोली आयोजना स्थल पुगेर परीक्षण गरेपछि विद्युत प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाले अबको २ सातासम्म परीक्षण उत्पादन गरी प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ । परीक्षणको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

यो सौर्य विद्युत आयोजना निर्माण सम्पन्न हुँदा साढे ८ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा बैंक अफ काठमाडौं एक्लैले ऋण लगानी गरेको छ ।यो अपिले निर्माण गरी सञ्चालनमा ल्याएको तेस्रो सौर्य विद्युत आयोजना हो । अपिले यसअघि निर्माण गरेकाे ४ मेगावाटको चन्द्रनिगाहपुर र १ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना सञ्चालनमा छन् ।

यो सौर्य विद्युत आयोजना रहेको क्षेत्रको मौसमको अवस्था अनुसार वार्षिक ४.९७ युनिट प्रतिवर्ग मिटर विद्युत उत्पादन गर्न सकिनेछ । यस क्षेत्रको औसत वार्षिक तापक्रम २५.३ डिग्री सेल्सियस तथा औसत वायुको गति ३.२४ किलोमिटर प्रतिघन्टा रहँदा वार्षिक १६.३ लाख युनिट विद्युत भई राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुग्ने कम्पनीले जनाएको छ ।

विद्युत प्राधिकरणले यो सौर्य विद्युत आयोजनाले उत्पादन गरेको विद्युत खरिद गर्न प्रतियुनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । आयोजनाका लागि लङ्गी ४५० डब्लु पि मोनो क्रिस्टलाइन मोडयुलका २६ सय ८८ वटा सोलार प्यानल उपयोग भएका छन् ।

उत्पादन भएको डिसी ऊर्जालाई एसी ऊर्जामा परिणत गर्न १.४ एमभिए क्षमताको एबीबी केन्द्रीय इन्भर्टर जडान गरिएको छ । यो इन्भर्टरले उत्पादन गरेको ६९० भोल्ट एसी ऊर्जा रुपान्टरणका लागि थ्रीफेजको १२ सय ५० केभिए क्षमताको ट्रान्सफर्मर स्वीयार्डमा राखिएको छ । यसले उत्पादन हुने एसी ऊर्जालाई ११ केभीमा रुपान्तरण गरिदिन्छ ।

यो आयोजना सञ्चालनमा आउँदा स्वच्छ र हरित ऊर्जा उत्पादन हुनुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा पनि योगदान पुग्नेछ । स्थानीय कृषकले पनि राम्रो र गुणस्तरीय विद्युत सेवा प्राप्त गर्नेछन् । यो सौर्य विद्युत आयोजना निर्माण अवधिभर २ सय जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी समेत पाएका थिए ।

यो आयोजनाको संरचना निर्माणको काम कुशल प्रोजेक्ट्स नेपाल प्रालिले गरेको हो । अपि पावरका यसअघिका २ सौर्य विद्युत आयोजना पनि कुशल प्रोजेक्ट्सले निर्माण गरेको हो । सिमरा कुशल प्रोजेक्ट्सले निर्माण गरेको चौंथो सौर्य विद्युत आयोजना हो । यो कम्पनीले डेढ वर्षको अवधिमा यी सबै सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरेको हो । कम्पनीले मोरङको विराटनगरमा ६.८ मेगावाटको अर्को सौर्य विद्युत आयोजनाको काम पनि सुरु गरेको छ । यो आयोजना आगामी दशैसम्ममा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

जलविद्युतमा लगानी गर्दै आएको अपि पावरले पछिल्लो समय सौर्य विद्युत आयोजनामा पनि लगानी विस्तार गर्दै लगेको छ । यसअघि २ वटा सौर्य विद्युत आयोजनाको सफल निर्माण गरेको अपि पावरले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिरहेको छ । यसअघि निर्माण भएका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड सञ्चालनमा छन् ।


Read Previous

काठमाडौंमा साझाका ३ विजुली बस सञ्चालनमा, साउनमा थप ३७ बस भित्रिदै

Read Next

पूर्वाधार आयोजना निर्माणमा जग्गा प्राप्तिको सकस

Leave a Reply

Your email address will not be published.