काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा ल्याएकाे छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत वितरण प्रणाली सुधार गर्ने उद्देश्यले निर्माण गरिएकाे योगीकुटी (बुटवल)बाट मैनहियासम्मकाे डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हाे ।
बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन बुधबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।
प्रसारण लाइन अन्तर्गत मैनहियामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका २ वटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मर राखिएकाे छ ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । उनले स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने बताए । जसमा ४ वटा फिडरको लाइन तानिएको पाण्डेले जानकारी दिए ।
१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।
अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।