Nepal Purbadhar

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चाल,भैरहवा क्षेत्रकाे वितरण प्रणाली सुध्रिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा ल्याएकाे छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत वितरण प्रणाली सुधार गर्ने उद्देश्यले निर्माण गरिएकाे योगीकुटी (बुटवल)बाट मैनहियासम्मकाे डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हाे ।

 बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन बुधबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।

प्रसारण लाइन अन्तर्गत मैनहियामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका २ वटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मर राखिएकाे छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । उनले स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने बताए । जसमा ४ वटा फिडरको लाइन तानिएको पाण्डेले जानकारी दिए ।

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।


Read Previous

तल्लो लिखुले भदौदेखि विद्युत उत्पादन गर्ने,९५ प्रतिशत निर्माण सकियो

Read Next

मौद्रित नीतिमा समेट्न सिबिफिनका यस्ता छन् २७ बुँदे सुझाव, पूर्वाधार बैंकले लगानी रकम निक्षेपमा राख्न पाउनुपर्ने

Nepal Purbadhar