काठमाडौं ।
नेपालका होटल तथा रिसोर्टहरुले दुई बर्षभित्र प्लास्टिकरहित सेवा दिने भएका छन् ।
जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री बनाउने लक्ष्यसहित होटल संघ नेपाल (हान)ले अब होटेलहरुलाई प्लास्टिकरहित बनाई सेवा दिने घोषणा गरेको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका माझ होटलहरुले प्लाष्टिकरहित सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।
हानका अनुसार, अबको दुई वर्षभित्रमा होटल तथा रिसोर्टबाट प्लास्टिकरहित सेवा दिनेछन् । हानले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने लक्ष्य लिएको छ ।
कोभिडपछिको पर्यटनलाई लयमा ल्याउने लक्ष्यसहित होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्ने गरि प्लाष्टिकरहित सेवा सुरु भएको हानका अध्यक्ष सिर्जना राणाले बताइन् । आगामी दिनमा होटलमा काठका समाग्री उपयोग बढाउने र प्लास्टिकरहित होटेल बनाउने उनको भनाई छ ।
विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति सचेत हुर्दै यो अभियानको सरुवात गरिएको हानले जनाएको छ ।
‘होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नगर्ने गरि अभियान थालेका छौ ।’–हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने ।
हानको सहकार्यमा होटलमा प्लाष्टिक रहित सेवाले वातावरण संरक्षणमा मद्दत पुग्ने काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले बताइन् ।