Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

आगामी आबमा ८ सय किलोमिटर नयाँ सडक र ३ सय पुल निर्माण गरिने


काठमाडौ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आब २०७९/८० मा ८ सय किलोमिटर नयाँ सडक निर्माण गर्ने घोषणा गरेको छ । त्यस्तै, २ सय ५७ किलोमिटर सडक स्तरोन्नति गरिने उल्लेख गरेको छ ।

चक्रपथलगायत काठमाडौं उपत्यकाका सडक विस्तार र स्तरोन्नति गर्नुका साथै सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गर्न तथा तीन तहको साझेदारीमा कालोपत्रे सडक नपुगेका स्थानीय तहका केन्द्रलाई प्रादेशिक वा राष्ट्रिय सडक सज्जालसँग आबद्ध गरिनेछ । त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार गरिनेछ ।

आगामी वर्ष थप ३ सय सडक पुलको निर्माण कार्य सम्पन्न गरिनेछ । स्थानीय सडकका पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ । महाकाली नदीमा निर्माणाधीन दोधारा चाँदनी जोड्ने चार लेनको पुलको निर्माण सम्पन्न गरिनेछ ।

सुरुङमार्गलाई प्राथमिकता

सरकारले सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको दाउन्नेमा तथा पृथ्वी राजमार्गको माझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङ मार्ग निर्माणको पूर्वतयारी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सिस्नेखोलादेखि नागढुंगासम्मको मुख्य सुरुङको निर्माण सम्पन्न गरिनेछ । सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने भएको छ ।

विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन

विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गरिने भएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्व तयारी गरिनेछ । रसुवागढी–काठमाडौँ अध्ययन रेलमार्गको सम्भाव्यता र वीरगञ्ज–काठमाडौं रेलमार्ग तथा काठमाडौँ उपत्यकामा मेट्रोरेलको विस्तृत अध्ययन गरिनेछ । नेपालका नदी प्रणालीहरूमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान तथा विकास गरिनेछ ।

भौतिक पूर्वाधारका पूरानै कार्यक्रमलाई निरन्तरता

सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा भौतिक पूर्वाधारका पूरानै कार्यक्रमलाई दोहोर्याएको छ । पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई कम्तीमा चार लेनको एसियन हाइवेको स्तरमा स्तरोन्नति गर्ने नीति अनुरूप बुटवल–नारायणगढ र कमला कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिने कार्यक्रम उल्लेख छ । साथै काँकडभिट्टा–लौकही, पथलैया–कमला तथा पथलैया–नारायणगढ खण्डको निर्माण कार्य सुरु गरिनेछ । काठमाडौं–तराई र मधेश दुतमार्ग तोकिएको समयमै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रिय राजमार्ग र तराई–मधेशका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा उदयपुरको गाईघाटसम्मको कम्तीमा चार लेनमा स्तरोन्नति गरिनेछ । सप्तरीको गोविन्दपुर–छिन्नमस्ता सडक निर्माण कार्यलाई प्राथमिकता दिइने कार्यक्रममा उल्लेख छ ।

राष्ट्रिय गौरवका कालीगण्डकी, कोशी र कर्णाली कोरिडोरको निर्माण एवं स्तरोन्नति कार्यलाई निरन्तरता दिइनेछ । कर्णाली कोरिडोरमा बाँकी ट्र्याक खोल्ने कार्य सम्पन्न गरी आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग दूत रूपमा सम्पन्न गर्ने तथा गल्छी–रसुवागढी सडकलाई दुई लेनको कालोपत्रे स्तरमा स्तरोन्नति, चन्द्रनिगाहपुर–गौर सडक चार लेनमा स्तरोन्नति र भारतीय सीमा नजिकका प्रमुख व्यापारिक नाकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडक स्तरोन्नति कार्यलाई प्राथमिकता दिइनेछ । मदन भण्डारी राजमार्गको निर्माण प्रक्रियामा रहेका बाँकी कार्यलाई सम्पन्न गरिनेछ ।


Read Previous

औद्योगिक पूर्वाधारमा निजी क्षेत्रको संलग्नता बढाइने

Read Next

१५ हजार मेगावाट उत्पादन नभएसम्म लगानी स्रोत नखोज्न इपानकाे माग, सरकारलाई २७ बुँदे सुझाव (विस्तृतमा)

Leave a Reply

Your email address will not be published.