Nepal Purbadhar

अब मन्त्रालय परिसरमै ह्वीलचेयर सेवा उपलब्ध


काठमाडौं। नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ।

शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा ह्वीलचेयर सेवा उपलब्ध गराइएको हो।

मन्त्रालयमा सेवा लिन आउने नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

अब मन्त्रालय परिसरमा आउने सेवाग्राहीले आवश्यकता अनुसार ह्वीलचेयर प्रयोग गरी सहज रूपमा आफ्नो काम सम्पन्न गर्न सक्नेछन्। यस व्यवस्थाले अपाङ्गता भएका व्यक्ति तथा शारीरिक कठिनाइ भएका नागरिकको सेवा पहुँचमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

नेपाल सरकारको समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहको प्रतिबद्धताअनुरूप मन्त्रालयले यो पहल अघि बढाएको हो। मन्त्रालयले आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै थप सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।


Read Previous

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकको १४ किलोमिटर कालोपत्र सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar