Nepal Purbadhar

घरजग्गा कारोबारबाट एक वर्षमै ६१ अर्ब ७३ करोड राजस्व, लाभकर बढ्ने भएपछि १ महिनामै उठ्यो झन्डै १२ अर्ब


काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट सरकारले ६१ अर्ब ७३ करोड ७२ लाख ८२ हजार ७७० रुपैयाँ राजस्व संकलन गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार वर्षको अन्तिम महिना असारमा कारोबार उल्लेख्य रूपमा बढेपछि राजस्व संकलनले नयाँ कीर्तिमान कायम गरेको हो।

विभागले सार्वजनिक गरेको विवरणअनुसार गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व उठेको छ। यो आर्थिक वर्षकै सबैभन्दा धेरै मासिक राजस्व हो। विभागका अनुसार कोरोना महामारी र २०७२ सालको गोरखा भूकम्पपछिको अवधिमा पनि घरजग्गा कारोबारबाट एकै महिनामा उठेको यो सबैभन्दा ठूलो राजस्व हो।

असारपछि सबैभन्दा धेरै राजस्व वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ संकलन भएको थियो। त्यसअघि चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ, जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ र माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।

त्यस्तै, मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ, फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ, साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ र भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ रुपैयाँ राजस्व संकलन भएको थियो।

आर्थिक वर्षको सुरुआती महिनामा कारोबार सुस्त रहँदा असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ मात्रै राजस्व उठेको थियो। यी दुई महिना वर्षकै न्यून राजस्व संकलन भएका महिना बने।

विभागका अनुसार आर्थिक वर्षभरको राजस्वमा असार महिनाको योगदान मात्रै करिब १९ प्रतिशत रहेको छ।

विशेषगरी साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत घोषणा भएपछि कर वृद्धि लागू हुनुअघि नै धेरै कारोबार सम्पन्न गर्ने प्रवृत्ति देखिएको थियो। यही कारण असारमा किनबेच उल्लेख्य रूपमा बढेको र त्यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा परेको विभागको अनुमान छ।

महिनागत राजस्व विवरण (आर्थिक वर्ष २०८२/८३)
साउन: ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ
भदौ: ३ अर्ब १४ करोड ७ लाख रुपैयाँ
असोज: २ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ
कात्तिक: २ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ
मंसिर: ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ
पुस: ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ
माघ: ५ अर्ब ९९ लाख रुपैयाँ
फागुन: ४ अर्ब १४ करोड ९५ लाख रुपैयाँ
चैत: ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ
वैशाख: ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ
जेठ: ५ अर्ब २४ करोड ४२ लाख रुपैयाँ
असार: ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ


Read Previous

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर हुँदा कैलाली सदर, सात दिनभित्र अधिवेशन गर्न निर्देशन

Read Next

सेजमा भाडा नतिर्ने उद्योगलाई सरकारको चेतावनी, एक साताभित्र नतिरे बिजुली–पानी काटिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar