Nepal Purbadhar

तयारी पोसाक उद्योगको प्रवर्द्धनमा ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गरिनेछ: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारले जोड दिइरहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तारका लागि सरकार सबै किसिमको सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए।

छलफलका क्रममा संघका पदाधिकारीले राखेको मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहने गरी ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठनको काम तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिए।

काउन्सिल गठन भएपछि स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।

यस्तै, निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगलाई तत्काल सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई थप निर्देशन दिइएको छ।

प्रधानमन्त्री शाहले निःशुल्क व्यापार सम्झौता (एफटीए) तथा वैदेशिक लगानी (एफडीआई) ल्याउन तत्काल काम गर्न निर्देशन दिएका छन्। अमेरिकामा तयारी पोसाकलगायत वस्तुको निर्यातमा देखिएको अवरोध तथा ‘टेस्टिङ सर्टिफिकेसन’को समस्या समाधान गरी निर्यातको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’को उद्देश्य पूरा गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गरिने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाए।

ग्रिन गार्मेन्ट भिलेजसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रममा भए पनि बजेट नआएको भन्दै संघका पदाधिकारीले गुनासो गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा खोज्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिए।

नेपालमा विगतमा निर्यातका आधारमा आयात गर्ने अभ्यास रहेको स्मरण गर्दै प्रधानमन्त्री शाहले त्यससम्बन्धी पुनः अध्ययन गरी आवश्यक काम अघि बढाउन पनि पदाधिकारीलाई आग्रह गरे।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले उद्योगले भोगिरहेका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ तथा अन्य सामग्री नेपालमै उत्पादन गर्न सक्षम बन्नुपर्नेमा पनि उनले जोड दिए।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए।


Read Previous

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

Read Next

जलस्रोत विधेयक संसद लैजाने तयारी, ऊर्जामन्त्रीले गरे प्रदेशका मन्त्रीसंग छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar