
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त नियुक्तिदेखि विदेशी शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी नयाँ नियमावली स्वीकृत गर्ने, गेटा अस्पताललाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति दिने लगायत आठ वटा महत्वपूर्ण निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार २०८३ असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की लाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले काठमाडौंका सुरज शाक्य लाई काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, कैलालीस्थित गेटा अस्पताल लाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय को शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले शिक्षा क्षेत्रसँग सम्बन्धित दुई नयाँ नियमावली पनि स्वीकृत गरेको छ। बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।
यसैगरी, कारागार नियमावली, २०८३ पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
बैठकले मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ।
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
यी निर्णयहरू प्रशासन, शिक्षा, स्वास्थ्य, सुशासन, मानव अधिकार तथा शहरी विकासलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण नीतिगत निर्णयका रूपमा हेरिएको छ।
