Nepal Purbadhar

बालेनले उद्योगीलाई कार्यकक्षमा बोलाएर भने- निजी क्षेत्रको सुझावका आधारमा अघि बढ्छु


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग-व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रमुख प्रतिनिधिसँग छलफल गर्दै उद्योगी-व्यवसायीका सुझावका आधारमा आवश्यक नीतिगत तथा प्रशासनिक सुधार अघि बढाइने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, उद्योग सञ्चालनमा रहेका समस्या समाधान गर्ने, लगानी विस्तारका लागि अनुकूल वातावरण तयार गर्ने तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने विषयमा निजी क्षेत्रसँग विस्तृत संवाद गरेका हुन् ।

उनले आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उनको भनाइ थियो।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग-व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थायित्व, सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने तथा सरकार र निजी क्षेत्रबीच नियमित तथा परिणाममुखी संवादलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने विश्वास दिलाउनुभयो। आर्थिक सुधारको अभियानलाई निजी क्षेत्रसँगको सहकार्यमार्फत थप प्रभावकारी बनाइने उहाँले स्पष्ट पारे ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

सरकार र निजी क्षेत्रबीच भएको यस उच्चस्तरीय संवादले उद्योग-व्यवसाय प्रवर्द्धन, लगानीको वातावरण सुधार, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा निजी क्षेत्रमैत्री नीतिनिर्माणलाई थप गति दिने अपेक्षा गरिएको छ।


Read Previous

अब मन्त्रालय परिसरमै ह्वीलचेयर सेवा उपलब्ध

Read Next

‘विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ स्थगन गर्न इप्पान को माग, निजी लगानी प्रभावित हुने चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar