
Rasuwa flood after one year Timure, Rasuwa.Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
रसुवा। बाढीले क्षतिग्रस्त भएपछि भन्सार महसुल नतिरेका ११ वटा विद्युतीय सवारी रसुवाको टिमुरे भन्सारमा बेवारिसे बनेका छन्।
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका करिब ८ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै छाडिएका हुन्।

क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सीजी मोटर्सले ती सवारी लैजान चासो नदिएको बताइएको छ। एक्सपेङ जी–६ ब्रान्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९० हजार रुपैयाँ रहेको छ। ती गाडीका लागि आयातकर्ताले बजार मूल्यको करिब ४० प्रतिशत अर्थात् ३ करोड ३९ लाख रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए।
त्यस्तै, ३७ लाख रुपैयाँ बराबरको एउटा विद्युतीय भ्यान पनि भन्सार परिसरमा बेवारिसे अवस्थामा छ।

गेलालका अनुसार बीमा दाबी गर्नुपर्ने भएकाले बाढीका समयमा गाडी जुन अवस्थामा थिए, त्यही अवस्थामा छाडिएका हुन्। आयातकर्ताले सरकारलाई लिलामीको अधिकार नदिएकाले भन्सार कार्यालयले पनि ती सवारीको व्यवस्थापन गर्न नसकेको उनले बताए।
‘आयातकर्ताले प्राकृतिक प्रकोपका कारण यस्तो भएको भन्दै सरकारलाई पत्र लेखेपछि हामीले मेकानिकल इन्जिनियर ल्याएर मूल्यांकन गर्छौं। त्यसपछि लिलामी प्रक्रियामा जान्छौँ। तर, त्यस्तो केही भएको छैन,’ उनले भने।

बाढीले कुल ७० करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरका आयातित सवारी तथा मालवस्तुमा क्षति पुर्याएको थियो। बाढीमा ५६ वटा विद्युतीय तथा पेट्रोलियम सवारी बगेका थिए, जसको अनुमानित मूल्य ४७ करोड १२ लाख ८२ हजार रुपैयाँ रहेको छ।
त्यसमध्ये सीजी मोटर्सका ४० वटा गाडीमा मात्रै ३३ करोड ३ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो। एक्सपेङ जी–६ ब्रान्डका १० वटा गाडी मात्रै ८ करोड ४९ लाख ९० हजार रुपैयाँ बराबरका थिए र ती पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
त्यस्तै, स्काइवेल मोटर्सका ८ वटा गाडीमा ६ करोड ९९ लाख २० हजार रुपैयाँ, स्पार्क प्रालिले आयात गरेका ५ वटा ट्रकमा ४ करोड ४८ लाख रुपैयाँ तथा इभरग्रीन इनर्जी एन्ड इन्भेस्टमेन्ट प्रालिका ३ वटा ट्रकमा २ करोड २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो।

यसैगरी, ३७ लाख रुपैयाँ बराबरको विद्युतीय भ्यान क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। स्काइवेलबाहेक अन्य सबै ब्रान्डका सवारीको बीमा गरिएको थियो।
बाढीमा २८ करोड ६२ लाख २३ हजार रुपैयाँ बराबरका मालवाहक सवारी तथा मालवस्तुमा समेत क्षति पुगेको थियो। त्यसमध्ये २४ करोड ४७ लाख ९० हजार रुपैयाँ बराबरको मालवस्तु र ४ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरका सवारीमा क्षति पुगेको थियो।





तस्बिर :नेपाल फोटो लाइब्रेरी

