
फाइल तस्बिर।
पाँचथर। पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्र गर्ने काम अन्योलमा परेको छ। निर्माण सम्झौता भएको छ वर्ष बित्न लाग्दासमेत नेपाल–भारत सीमा चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका-४ दारिम्बासम्मको करिब ५१ किलोमिटर सडक कालोपत्र हुन सकेको छैन।
तीन प्याकेजमा विभाजन गरेर निर्माण अघि बढाइएको यस खण्डमा कुनै पनि प्याकेजको भौतिक प्रगति ५५ प्रतिशतभन्दा माथि पुगेको छैन। एउटा प्याकेजको ठेक्का सम्झौता रद्द भइसकेको छ भने बाँकी दुई प्याकेजमा पनि पटक-पटक म्याद थप्दा कामले गति लिन सकेको छैन।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवका अनुसार विसं २०७७ माघ १९ गते तीन चरणमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको थियो। पहिलो प्याकेजको भौतिक प्रगति ३५ प्रतिशत, दोस्रोको १६ प्रतिशत र तेस्रोको ५५ प्रतिशत पुगेको छ।
चिवाभञ्ज्याङबाट सुरू हुने पहिलो प्याकेजको १६ किलोमिटर सडक निर्माणको जिम्मा रोशन–शिवशक्ति जेभीले ५३ करोड १७ लाख रुपैयाँमा लिएको थियो। चार पटक म्याद थप भइसकेको यस प्याकेजको अन्तिम म्याद आगामी जेठसम्म छ। तर उच्च पहाडी क्षेत्रको प्रतिकूल मौसमका कारण तोकिएको अवधिमा काम सम्पन्न हुने सम्भावना न्यून रहेको छ।
करिब १७ किलोमिटरको दोस्रो प्याकेजको ठेक्का भने गत असार ११ गते रद्द गरिएको थियो। सन्तोषी शिवशक्ति जेभीले ४६ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डमा भौतिक प्रगति १६ प्रतिशतमा सीमित भएपछि योजना कार्यालयले सम्झौता तोडेको हो।
निर्माण कम्पनीले ठेक्का रद्द गर्ने निर्णयविरुद्ध उच्च अदालत विराटनगरको इलाम इजलासमा रिट दायर गरेको छ। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै ठेक्कासम्बन्धी सक्कली कागजात पेस गर्न आदेश दिएको प्राविधिक देवले बताए। अदालती प्रक्रिया र नयाँ ठेक्का लगाउने प्रक्रियाका कारण यस खण्डको निर्माण कहिले सुरू हुने भन्ने निश्चित छैन।
दारिम्बाबाट सुरू हुने तेस्रो प्याकेजको करिब १७ किलोमिटर सडक निर्माणको जिम्मा रोशन–शिवशक्ति जेभीले ४६ करोड ३६ लाख रुपैयाँमा लिएको थियो। पाँच पटक म्याद थपिएको यस प्याकेजको ठेक्का अवधि गत वैशाखमै सकिएको भए पनि भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ। सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनअनुसार ५० प्रतिशतभन्दा बढी प्रगति भएका ठेक्का नतोड्ने व्यवस्था रहेकाले निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरिएको कार्यालयले जनाएको छ।
बाढीपहिरोले थपियो समस्या
निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ। बर्सेनि हुने वर्षा, बाढी र पहिरोले निर्माणाधीन सडकमा क्षति पुर्याउने गरेको छ। याङवरक गाउँपालिका-२ स्थित मेवा खोलाको दोभानेमा बाढीका कारण सडक नियमित अवरुद्ध हुने समस्या छ।
याङवरक-१ च्याङथापुका नरबहादुर गुरुङले चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सडकको कालोपत्र अझै अनिश्चित हुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए। उनका अनुसार सडक निर्माणले गति नलिँदा बाढीपहिरोले आंशिक रूपमा भएका कामसमेत क्षति पुर्याउने गरेको छ।
स्थानीय तेजेन्द्र राईले निर्माण कम्पनीलाई पर्याप्त जनशक्ति र उपकरण परिचालन गराएर काम अघि बढाउन सरकारी निकायले कडाइ गर्नुपर्ने बताए। याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले पनि निर्माण कम्पनीको लापरवाहीका कारण स्थानीयवासीले दुःख पाएको बताए।
योजना कार्यालयका प्राविधिक देवका अनुसार सुरूमा निर्माण कम्पनीले पर्याप्त जनशक्ति, यन्त्रउपकरण र स्रोतसाधन परिचालन नगर्दा कामले गति लिन सकेको थिएन। पछिल्ला वर्षमा अत्यधिक वर्षा, बाढीपहिरो र प्रतिकूल भौगोलिक अवस्थाले पनि निर्माणमा अवरोध पुर्याएको उनले बताए।
मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्रमा निरन्तर ढिलाइ भएपछि स्थानीय बासिन्दाले स्थानीय प्रशासन, सम्बन्धित सरकारी निकाय र अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन्। तर एउटा प्याकेजको ठेक्का रद्द हुनु र बाँकी प्याकेजमा समेत निर्माण सुस्त रहनुले सडक कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न अनुत्तरित छ।

