
कास्की। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन ओटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन्। पुल निर्माण सम्पन्न भएसँगै फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माका अनुसार पोखरा महानगरपालिका-१ स्थित याम्दी खोलामा दुई ओटा र अन्नपूर्ण गाउँपालिकाको घट्टेखोलानजिक पानीविहाडमा एक ओटा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो।
याम्दी खोलामा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ एक-एक ओटा नयाँ पुल निर्माण गरिएको छ। दुवै पुलको लम्बाइ ५२-५२ मिटर रहेको छ। त्यस्तै अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ १२४ मिटर रहेको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो। सडक फराकिलो भए पनि पुल निर्माण सम्पन्न नहुँदा सडकको चौडाइअनुसार पुलको संरचना नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो।
विशेषगरी साँघुरो पुलमा विपरीत दिशाबाट आएका सवारीसाधनलाई पार गराउन कठिनाइ हुने गरेको थियो। यसले दुर्घटनाको जोखिमसमेत बढाएको थियो। नयाँ पक्की पुल सञ्चालनमा आएसँगै सडकको चौडाइअनुसार सवारीसाधन सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्।
इन्जिनियर शर्माका अनुसार पुल निर्माण सम्पन्न भएपछि यात्राको समय बचत हुनुका साथै सवारीसाधनको आवागमन थप व्यवस्थित हुनेछ।
तीन ओटै पुल निर्माणका लागि एउटै ठेक्कामार्फत काम अघि बढाइएको थियो। कार्यालयले रु २१ करोड ५९ लाख ७८ हजार लागतमा विसं २०७९ साउन २२ गते गीता कन्स्ट्रक्सन, स्याङ्जासँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण सम्पन्न गरी तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायत जिल्लातर्फ हुने यातायात थप सहज हुने भएको छ।
मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायत जिल्लामा आवतजावत गर्छन्। मालवाहक सवारीसाधन, सार्वजनिक यातायात तथा निजी सवारीसाधनका लागि समेत यो सडकखण्ड महत्वपूर्ण मार्गका रूपमा रहेको छ।
पुल निर्माण सम्पन्न भएसँगै मध्यपहाडी लोकमार्गको कास्की खण्डमा सडक र पुलको संरचनाबीचको असमानता हटेको छ भने यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।


