
म्याग्दी। अविरल वर्षापछि असोज ८ देखि ११ गतेसम्म आएको बाढीपहिरोले म्याग्दीमा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोमा सात जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् भने सडक, खानेपानी, विद्युत्, सञ्चार, सिँचाइ, नदी नियन्त्रणलगायत पूर्वाधार तथा निजी आवासमा अर्बौं रुपैयाँको क्षति भएको छ।
जिल्लाभर १११ घर पूर्ण रूपमा क्षतिग्रस्त, ९३ घरमा आंशिक क्षति र ३४२ घर पहिरोको उच्च जोखिममा परेका छन्। प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार खोज तथा उद्धारको प्रारम्भिक चरण पूरा गरेर अहिले राहत, विस्थापितको व्यवस्थापन, क्षतिको विवरण सङ्कलन र अवरुद्ध पूर्वाधार पुनः सञ्चालनमा केन्द्रित भएर काम भइरहेको छ।
बेनी-जोमसोम सडकमा मात्रै ८० देखि ९० करोडको क्षति
बाढीपहिरोबाट सबैभन्दा ठूलो असर सडक पूर्वाधारमा परेको छ। प्रारम्भिक अनुमानअनुसार बेनी-जोमसोम सडकखण्डमा मात्रै ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको छ। बेनी-दरबाङ सडकमा करिब आठ करोड रुपैयाँको क्षति भएको प्रशासनले जनाएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकका विभिन्न ५५ स्थानमा बाढीपहिरोले अवरोध गरेको थियो। त्यसमध्ये कालीगण्डकीको बाढीले १० स्थानमा सडक कटान गरी बगाएको वा भत्काएको थियो।
बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गादेखि रघुगङ्गा गाउँपालिका-२ कुनौटासम्म तथा कोरला नाकादेखि पोखरेबगर पुलसम्मको अधिकांश सडक प्रारम्भिक रूपमा सञ्चालनयोग्य बनाइएको छ।
पोखरेबगर र कुनौटाबीचका रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलालगायत स्थानमा पहिरो पन्छाउने र वैकल्पिक मार्ग निर्माण गर्ने काम सम्पन्न भएको छ।
तर कुनौटामा बाढीले करिब २५० मिटर सडक पैदलयात्रासमेत गर्न नमिल्ने गरी बगाएको छ। पोखरेबगरस्थित पुलको पहुँचमार्ग पनि बाढीले बगाएको छ। कुनौटामा चार एक्साभेटरसहित टिप्पर परिचालन गरी माटो भर्ने काम भइरहेको छ भने पोखरेबगरमा ग्यावियन पर्खाल निर्माण भइरहेको छ।
आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र जनशक्ति परिचालन गरिएको सडक योजनाले जनाएको छ।
तीन अर्बसम्म लाग्ने अनुमान
कालीगण्डकी करिडोरमा यसपटकको विपद्ले ठूलो क्षति पुर्याएको छ। सडक पुनर्निर्माणका लागि मात्रै करिब तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ।
सडक विभाग र निर्माण व्यवसायीका १५ एक्साभेटर, १२ टिप्पर र १५ लोडरसहित जनशक्ति परिचालन गरेर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। सडक विभागका अनुसार विभिन्न स्थानमा समानान्तर रूपमा काम अघि बढाइएको छ।
रसुवा र तातोपानी नाका बन्द रहेका बेला चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण भएकाले बेनी-जोमसोम-कोरला सडकलाई छिटो सञ्चालनमा ल्याउन उच्च प्राथमिकता दिइएको प्रशासनले जनाएको छ।
मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको, दसैं-तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको र पर्यटकीय याम पनि सुरू भएकाले बेनी-जोमसोम सडक तत्काल सञ्चालनमा ल्याउन दबाब बढेको छ।
बेनी-दरबाङ सडकमा १०० मिटर खण्ड भत्कियो
पश्चिम म्याग्दीको मुख्य यातायात मार्ग बेनी-दरबाङ सडकमा पनि बाढीले गम्भीर क्षति पुर्याएको छ। मालिका गाउँपालिका-६ बालौटेमा म्याग्दी नदीले सडक कटान गर्दा करिब १०० मिटर सडक कालोपत्रको डिलदेखि कुनासम्मै भत्किएको छ।
अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गरेपछि सडक कटान भएको हो। सडक भत्किँदा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा यातायात प्रभावित भएको छ।
तत्कालका लागि दुखुखोलामा ह्युम पाइप राखेर दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिएको छ। तर वैकल्पिक सडक साँघुरो, कच्ची र ग्रेड नमिलेको भएकाले ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ छ। बाढी आए ह्युम पाइपसमेत बगाउने जोखिम रहेको स्थानीयले बताएका छन्।
यो सडक बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्छन्। साथै म्याग्दीखोला बेसिनमा निर्माणाधीन छ ओटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधन पनि यही सडकबाट आवतजावत गर्छन्।
दुखुबेँसीका १४० घरपरिवार जोखिममा
बालौटेमा सडक कटान भएपछि दुखुबेँसी बस्तीसमेत जोखिममा परेको छ। सडकभन्दा तल नदी कटान र पहिरो पुग्दा करिब १४० घरपरिवारको बसोबास रहेको बस्ती जोखिममा परेको मालिका गाउँपालिका-६ ले जनाएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार सडक पुनर्निर्माणका लागि खोलाको किनारबाट पक्की पर्खाल उठाउनुपर्ने अवस्था छ। सडकको माथिल्लो भागतर्फ पर्याप्त ठाउँ नभएकाले भित्ता काटेर सडक निर्माण गर्दा बस्ती थप जोखिममा पर्ने देखिएको छ।
मङ्गलबार गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा तथा मन्त्रालयका अधिकारीको टोलीले बालौटे पुगेर सडकको अवस्थाबारे निरीक्षण गरेको छ।
सांसद जुग्जालीले सडक सञ्चालन, पुनर्निर्माण, नदी कटान नियन्त्रण र बस्ती संरक्षणको काम समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका छन्। दसैंअघि यातायात सञ्चालन गर्ने र आगामी बर्खाअघि नदी नियन्त्रणको काम पूरा गर्नुपर्ने उनको प्रस्ताव छ।
मन्त्रालयका सचिव शर्माका अनुसार सडक मर्मतका लागि मौजुदा बजेटबाट ग्यावियन जाली र मजदुरको व्यवस्थापनसँगै थप बजेटको प्रक्रिया अघि बढाइनेछ। गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने तथा जलविद्युत् आयोजनाका उपकरणसमेत प्रयोग गरी कामलाई तीव्रता दिने समझदारी भएको छ।
खानेपानी र विद्युत्मा पनि करोडौंको क्षति
बाढीपहिरोले सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा मात्रै आठदेखि १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। विद्युत् संरचनामा करिब दुई करोड ५० लाख रुपैयाँको क्षति पुगेको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा शिख, पुनहिल, पोखरेबगर, घोरेपानी, बेगखोलालगायत ग्रामीण क्षेत्र प्रभावित छन्।
नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुग्नुका साथै तीन ओटा टावरमा इन्धन अभाव भएपछि सञ्चार सेवा पनि प्रभावित भएको छ।
उद्धारपछि राहत र पुनःस्थापनामा जोड
विपद्पछि तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्था खोज, उद्धार र राहतमा परिचालन भएका छन्। सडक सम्पर्कविच्छेद भएका अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा हेलिकप्टरमार्फत ३०० भन्दा बढी घरपरिवारलाई राहत सामग्री पुर्याइएको छ।
विपद्का कारण जोखिममा परेका दुई गर्भवती र दुई गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याइएको प्रशासनले जनाएको छ।
घर पूर्ण रूपमा क्षति भएका तथा विस्थापित परिवारलाई स्थानीय विद्यालय, सामुदायिक भवन र आफन्तको घरमा राखिएको छ। पूर्ण रूपमा घर क्षति भएका परिवारका लागि अस्थायी आवासका रूपमा बलिया टेन्टको व्यवस्था गरिएको छ।
जोखिमयुक्त क्षेत्रको भौगर्भिक अध्ययन
बाढीपहिरो प्रभावित क्षेत्रको जोखिम अध्ययनका लागि बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकामा भौगर्भिक टोलीले अध्ययन सम्पन्न गरिसकेको छ। अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा थप भौगर्भिक अध्ययनका लागि पहल भइरहेको प्रशासनले जनाएको छ।
प्रशासनले तत्काल अवरुद्ध सडक, विद्युत्, सञ्चार र खानेपानी सञ्चालनमा ल्याउने तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकता दिएको छ। त्यसपछि क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनामा ध्यान केन्द्रित गर्ने जनाएको छ।
म्याग्दीमा बाढीपहिरोले सडकदेखि खानेपानी, विद्युत्, सञ्चार र निजी आवाससम्म व्यापक क्षति पुर्याएकाले तत्कालीन पुनःस्थापनासँगै दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ। बेनी-जोमसोम-कोरला र बेनी-दरबाङ सडकको पुनर्निर्माण तथा नदी कटानबाट जोखिममा परेका बस्तीको संरक्षण अहिले जिल्लाको प्रमुख चुनौती बनेको छ।


