
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी तथा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो।
कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ। त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनित गर्ने व्यवस्था रहेकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।
निर्वाचन समितिका अनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ।
सभापतिमा तीन जनाको उम्मेदवारी
सभापति पदका लागि वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ।
खुला उपसभापतिका दुई पदका लागि गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा. डा. चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा. मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेले उम्मेदवारी दिएका छन्।
महिला उपसभापति पदमा पुष्पा भुसाल तथा समावेशी उपसभापति पदमा जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको छ।
महामन्त्रीमा १० जनाको उम्मेदवारी
खुला महामन्त्रीका दुई पदका लागि अमरसिंह पुन, उदयशम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।
महिला महामन्त्री पदमा डा. डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालको उम्मेदवारी परेको छ।
सहमहामन्त्रीका विभिन्न समूहमा प्रतिस्पर्धा
सहमहामन्त्री महिलातर्फ एक पदका लागि नानु बाँस्तोला र प्रतिमा गौतम उम्मेदवार बनेका छन्।
खुला सहमहामन्त्रीका दुई पदका लागि अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्र कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गानाले उम्मेदवारी दिएका छन्।
आदिवासी जनजातितर्फ एक पदका लागि ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामा प्रतिस्पर्धामा छन्।
दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र लक्ष्मी परियारको उम्मेदवारी परेको छ।
मधेसीतर्फ अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाहले उम्मेदवारी दिएका छन्।
खस आर्यतर्फ जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत उम्मेदवार बनेका छन्।
थारूतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी, मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. फिरदोस आलमको उम्मेदवारी परेको छ।
पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मीनबहादुर भाम र राजन कुँवरले उम्मेदवारी दिएका छन्।
अल्पसङ्ख्यक वा अपाङ्गतातर्फ आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली उम्मेदवार बनेका छन्।
यसैगरी, केन्द्रीय सदस्य पदमा पनि उल्लेख्य सङ्ख्यामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्रथम नामावलीमा कुनै दाबीविरोध भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म प्रक्रियासम्मत रूपमा दाबीविरोध दर्ता गर्न सकिनेछ।


