
कञ्चनपुर। भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ। बाँधमा जम्मा भएको सिल्ट सफा गर्ने प्रयोजनका लागि ढोका खोल्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म धौलीगंगा बाँधका ढोका खुला राखिनेछन्।
बाँधका ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। त्यसलाई ध्यानमा राख्दै महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रशासनले नदी किनारमा अनावश्यक रूपमा नजान, नदीमा प्रवेश नगर्न तथा नदीमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ।
बाँधका ढोका बन्द भएपछि तत्कालै नदीको जलस्तर सामान्य नहुन सक्ने भएकाले त्यसपछि पनि केही समय महाकाली तटीय क्षेत्रमा सतर्कता कायम राख्न प्रशासनले आग्रह गरेको छ।
प्रशासनले नदीको बहाव र जलस्तरमा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक समन्वय र पूर्वतयारीमा रहनसमेत अनुरोध गरेको छ।

