Nepal Purbadhar

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।

बैंकले समीक्षा अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकप्रति शेयरधनीले देखाएको विश्वास र निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूको साथ र सहयोगले बैंकले दुई दशकको यात्रा पूरा गर्न सफल भएको उनले बताए।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशन पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। ग्राहकलाई सहज र आधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा थप लगानी गरिने जानकारी उनले दिए।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

सभामा नियामक निकायका प्रतिनिधि, शेयरधनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीको उपस्थिति थियो।

आधुनिक प्रविधि र ग्राहक सेवामा काम गर्दै आएको ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मान पनि प्राप्त गरेको बैंकले जनाएको छ।

बैंकका अनुसार ग्लोबल आइएमई बैंक ७७ ओटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन ओटा प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकको सेवा सञ्जाल एक हजारभन्दा बढी सेवा केन्द्रमा फैलिएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगेको बैंकको भनाइ छ।

यसैबीच, भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि बैंकले ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ। उक्त रकममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोग तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम समावेश रहेको बैंकले जनाएको छ।


Read Previous

धौलीगंगा बाँध ४८ घण्टाका लागि खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Read Next

जगदुल्ला अर्ध जलाशययुक्त जलविद्युत् आयोजना: कर्णालीको समृद्धि, स्वच्छ ऊर्जा र दिगो विकासको आधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar