Nepal Purbadhar

विद्यालयको कोठाबाट सेवा दिएको वडा कार्यालय, बल्ल बल्ल बनेको भवन पनि खोलामा लग्यो


बागलुङ। बागलुङको गलकोट नगरपालिका-९ को वडा कार्यालय भवन दरमखोलामा आएको बाढीले जगैदेखि बगाएर खोलामा पुर्‍याएको छ। गत असोज ११ गते आएको बाढीले जमिन कटान गरेपछि करिब ८० लाख रुपैयाँ लागतमा निर्माण भएको सिंगो भवन खोलामा ढलेको हो।

संघीयता कार्यान्वयनपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष तेजबहादुर थापाको पहलमा भवन निर्माण गरिएको थियो। २०७७ साल माघमा निर्माण सम्पन्न भएको भवन तीन रोपनी क्षेत्रफलमा फैलिएको थियो। भवन निर्माणका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानमा प्राप्त भएको थियो।

कार्यालय भवन निर्माण हुनुअघि वडा कार्यालय भैरव माध्यमिक विद्यालयको एउटा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। विद्यालयको कोठा प्रयोग गरेबापत वडा कार्यालयले मासिक ६ हजार रुपैयाँ भाडा तिर्ने गरेको थियो।

लामो समयको प्रयासपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरू भएको केही वर्षमै बाढीले भवन नै बगाएपछि वडाध्यक्ष थापा भावुक बनेका छन्। दरमखोलामा ढलेको भवन हेर्न उनी दिनमा पटक-पटक पुग्ने गरेका छन्। भवनभित्र रहेका आवश्यक सामान निकाल्न उनी जोखिम मोलेरै पस्ने गरेका छन्।

बाढीले भवनको जगतर्फको जमिन कटान गर्न थालेपछि स्थानीयले अत्यावश्यक कागजपत्र तथा केही सामग्री बाहिर निकालेका थिए। अहिले पनि भवनबाट कुर्सी, टेबल तथा कम्प्युटरका पाटपुर्जा निकाल्ने काम भइरहेको छ। वडाध्यक्ष थापालाई स्थानीय युवाले पनि यसमा सहयोग गर्दै आएका छन्।

‘मेरो धान खेत बगेर मलाई केही चिन्ता लागेको छैन। म एकपटक पनि त्यो खेतमा पुगेको छैन। तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु। यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,’ थापाले भने।

बाढीले उनको लाखौँ रुपैयाँ मूल्य पर्ने धानखेतसमेत बगरमा परिणत गरेको छ। तर व्यक्तिगत क्षतिभन्दा वडा कार्यालय भवन बगाएको घटनाले आफूलाई बढी दुःखी बनाएको उनले बताए।

उनका अनुसार भवनसँगै दुई कार्यकाल वडाध्यक्ष भएर काम गर्दा तयार भएका महत्वपूर्ण दस्तावेज तथा आफ्नो कार्यकालसँग जोडिएको इतिहाससमेत गुमेको महसुस भएको छ।

‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो। यहाँ मेरो दुई-दुई कार्यकालको एक-एक थोपा पसिना छ। मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ उनले भने।

भवन बगेपछि पनि स्थानीयलाई सेवा प्रवाहमा समस्या हुन नदिन नजिकैको गाउँमा घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ। वडाध्यक्ष थापाले भवन नभए पनि नागरिकलाई सेवा पाउनबाट वञ्चित हुन नदिने बताए।

बाढीले वडा कार्यालय परिसरमा करिब १५ लाख रुपैयाँ लागतमा जडान गरिएको सोलार बत्तीसमेत बगाएको छ। गलकोट नगरपालिकाका ११ वडामध्ये यो भवन सबैभन्दा पहिले निर्माण गरिएको थियो।

खोलामा ढलेको भवन अझै बलियो रहेको भन्दै थापाले सम्भव भए त्यसलाई उठाएर पुनःस्थापना गर्ने योजना रहेको बताए।

गलकोट नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले नगर क्षेत्रका २२ घरमा क्षति पुर्‍याएको छ। बाढीबाट घर, गोठ तथा व्यवसायमा क्षति पुगेको छ। गलकोट नगरपालिका-५ हरिचौर र वडा नम्बर ६ चरौंदीमा सबैभन्दा बढी क्षति पुगेको नगरपालिकाको विवरणमा उल्लेख छ।

शब्द/तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


Read Previous

नियमन आयोगले ल्याएको प्रसारण शुल्कले दिर्घकालीन विद्युत बजार प्रभावित हुन सक्छ-डा नेत्र ज्ञवाली

Read Next

ओपन एक्सेसपछि ऊर्जा उद्यमी लामिछानेले भने : उत्पादन बढाऔँ, स्वदेशमै खपत बढाऔँ, विद्युत् निर्यात बढाऔँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar