
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ।
ह्युम कन्सल्ट प्रालिले प्रवर्द्धन गरेको आयोजनाको रेलेखर्कको फेदीमा रहेको बाँधमा बाढी पसेर क्षति पुगेपछि असोज ८ देखि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको आयोजना प्रमुख दार्शनिक काफ्लेले जानकारी दिए।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आयोजनाको बाँध क्षेत्रमा क्षति पुगेको हो। रेलेखर्क क्षेत्रमा पहिरो गएपछि रेलेखोलामा बाढीको सतह बढेर बाँधमा गेग्रान तथा माटो थुप्रिएको छ।
भौगोलिक रूपमा दुर्गम क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएको छ। पहुँचमार्ग अवरुद्ध हुँदा बाँधमा थुप्रिएको बाढीजन्य पदार्थ हटाउन र आयोजना पुनः सञ्चालन गर्न समस्या भएको छ।
बाढीले बाँधका भौतिक संरचनामा क्षति पुर्याएको छ। विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले विद्युत् बिक्रीबाट प्राप्त गर्ने आम्दानीसमेत गुमाइरहेको छ।
गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको छ।
यसैबीच, कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले प्रसारण लाइनका टावर बगाउनुका साथै तार चुँडाएर क्षति पुर्याएको छ। बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका संरचना र प्रसारण प्रणालीमा क्षति पुग्दा विद्युत् उत्पादन तथा आपूर्तिमा चुनौती थपिएको छ।

