
म्याग्दी। बाढीपहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् सेवा पुनः सञ्चालन गर्न प्रसारण लाइन मर्मतको काम सुरु गरिएको छ। कालीगण्डकी नदीमा आएको बाढीले २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनका चार ओटा टावर ढालेपछि विद्युत् आपूर्ति प्रभावित भएको हो।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटे क्षेत्रमा प्रसारण लाइनका टावर ढालेको थियो। टावर ढलेर तार चुँडिएपछि मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ।
विद्युत् प्रसारण अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ ओटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन। यसबाट करोडौँ रुपैयाँको नोक्सानी भएको छ। विद्युत् अभावमा सञ्चार सेवा प्रभावित हुनुका साथै सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको छ।
नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँका अनुसार दाना सबस्टेसनबाट तत्काल विद्युत् आपूर्ति गराउन सम्भव नभएपछि वैकल्पिक प्रसारण लाइन सञ्चालनको तयारी गरिएको छ।
उनले मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोवाङसम्म रहेको ३३ केभी प्रसारण लाइन मर्मत सुरु गरिएको जानकारी दिए। उक्त प्रसारण लाइनको म्याग्दी खण्डमा समेत विभिन्न स्थानमा क्षति पुगेकाले प्राधिकरणका कर्मचारी र ठेकेदारमार्फत मजदुर परिचालन गरी मर्मतको काम अघि बढाइएको उनले बताए।
चापागाईँका अनुसार तातोपानीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म ढलेका पोल गाड्ने तथा चुँडिएका र लत्रिएका तार हटाएर नयाँ तार तान्ने काम सम्पन्न भएको छ। घारमा एक ओटा र राखुदेखि बेगखोला जोड्ने क्षेत्रमा चार ओटा पोल ढलेका छन्।
बेगखोला र तिप्ल्याङको बीचमा करिब डेढ किलोमिटर दूरीमा रहेका पोल र तार कालीगण्डकीको बाढीले पूर्ण रूपमा बगाएको छ। सडक यातायात सञ्चालनमा नरहेकाले मर्मतका लागि आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको छ।
प्राधिकरणको प्रादेशिक कार्यालयबाट आवश्यक सामग्री ल्याएर बेनी हुँदै राखुसम्म सवारीसाधनमार्फत ढुवानी गर्ने र त्यहाँबाट बेगखोला क्षेत्रमा भरियाको सहयोगमा सामग्री पुर्याउने गरिएको छ।
मुस्ताङको प्रसारण तथा वितरण लाइनमा समस्या नरहेको स्थलगत निरीक्षणबाट पुष्टि भएको चापागाईँले बताए। वितरण केन्द्रले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न प्रसारण लाइन मर्मतको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ।

