
काठमाडौं । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त सेयरको कुल मूल्य १२ करोड ५० लाख रुपैयाँ हुनेछ।
भिजन लुम्बिनी सार्वजनिक लगानीमूलक कम्पनीका रूपमा विभिन्न क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन तथा प्रवर्द्धन गर्दै आएको छ। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायतका क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य राखेको छ।
कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ। स्वदेशी पुँजी तथा स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत नयाँ लगानीका सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने कम्पनीको उद्देश्य छ।
आगामी दिनमा सम्भावनायुक्त नयाँ परियोजनामा लगानी विस्तार गर्दै रोजगारी सिर्जना, राष्ट्रिय पुँजी निर्माण र मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने कम्पनीले जनाएको छ।

