
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा जनकपुरले टस जित्दै साविक विजेता लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
यस सिजन लुम्बिनी अपराजित रहने एक्लो टोली हो। तीन खेलबाट ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो संस्करणको विजेता जनकपुरले भने चार खेलबाट २ जित र २ हारसहित ४ अंक जोडेको छ।
आजको खेलका लागि दुवै टोलीले आफ्नो प्लेइङ-११ मा परिवर्तन गरेका छन्। लुम्बिनीले अभिशेष गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा समेटेको छ ।
यस्तै, जनकपुरले अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परभेज हुसेन इमोनलाई खेलाएको छ ।
मोइन अली भने सुरुवाती चार खेल खेलेपछि अबुधाबी टी-१० लिग खेल्न गइसकेका छन् ।
अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेको लुम्बिनी र जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार्न चाहेको जनकपुरबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।


