Nepal Purbadhar

पहिलो त्रैमासमै सिँचाइ आयोजनाको प्रगति उत्साहजनक, २३९ करोड खर्च


काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिँचाइ आयोजनाहरूको कार्यान्वयनले उत्साहजनक गति लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागले पहिलो तीन महिनामा २३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । उक्त खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको छ ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार पहिलो त्रैमासमा ठूला सिँचाइ आयोजनाहरूले भौतिक प्रगतिमा राम्रो उपलब्धि हासिल गरेका छन् । महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ । आयोजनाले यस अवधिमा ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।

त्यस्तै, बबई सिँचाइ आयोजनाले त्रैमासिक लक्ष्यको तुलनामा ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।

महानिर्देशक रजौरियाका अनुसार यी चार ठूला आयोजनाले मात्रै पहिलो त्रैमासमा १३९ करोड रुपैयाँ खर्च गरेका छन् । यो विभागको कुल खर्चको ५८ प्रतिशत हो ।

विभागका अनुसार अन्य आयोजनाहरूको प्रगति पनि सन्तोषजनक देखिएको छ । प्रगन्ना-बड्कापथ सिँचाइ आयोजना (दाङ) ले ८८.२ प्रतिशत भौतिक प्रगति गरेको छ । त्यस्तै, गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य हासिल गरेका छन् ।

पहिलो त्रैमासको प्रगतिले तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण कार्यलाई सँगसँगै अघि बढाउन सकिएको संकेत गरेको विभागको भनाइ छ ।

‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ,’ महानिर्देशक रजौरियाले भने ।

पहिलो त्रैमासमा देखिएको खर्च र भौतिक प्रगतिलाई निरन्तरता दिँदै दोस्रो त्रैमासमा बाँकी आयोजनाको कार्यान्वयन गति बढाउने विभागको लक्ष्य छ ।


Read Previous

आईजीपीलाई फुली लगाउँदै गृहमन्त्री गुरुङको निर्देशन- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’

Read Next

दुई महिनादेखि गुम्बाको बास, सरकारको बाटो कुर्दाकुर्दै थकित तन लिएर गाँउ फर्किदै बाढी पीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar