Nepal Purbadhar

बाँकेका अलपत्र तीन आयोजनाको ठेक्का तोडियो, अब नयाँ प्रक्रियाबाट काम अघि बढाइने


बाँके। निर्धारित समयभित्र निर्माण तथा मर्मतको काम सम्पन्न गर्न नसकेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले तीन ओटा अलपत्र आयोजनाको ठेक्का सम्झौता तोडेको छ।

ठेक्का तोडिएका आयोजनामा रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना रहेका छन्।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार पटकपटक म्याद थप गर्दा पनि निर्माण कार्य अघि बढ्न नसकेपछि भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा ठेक्का सम्झौता रद्द गरिएको हो।

रत्न राजमार्गको उक्त खण्डको मर्मत गत वर्ष नै सम्पन्न गर्नुपर्ने थियो। यस्तै, औरही नदी पुलको पहुँचमार्ग र ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक आर्थिक वर्ष २०८१/८२ भित्रै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले काम पूरा गर्न सकेका थिएनन्।

प्रगतिको सम्भावना नरहेका रुग्ण आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाउने तयारी गरिएको कार्यालयले जनाएको छ।

यसैबीच, सडक डिभिजन कार्यालय नेपालगन्जले बर्दियाको जब्दीघाटमा बबई नदीमाथि नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने पुल निर्माणका लागि गत कात्तिक १६ गते भरतपुरस्थित एमआर एन्ड ग्रुपसँग सम्झौता भएको हो।

६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ। दुई लेनको उक्त पुल निर्माण ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ।

जब्दीघाटमा यसअघि पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल हस्तान्तरण नहुँदै २०७२ सालको बाढीले भासिएको थियो। त्यसपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्सा सञ्चालन हुँदै आएका थिए। विसं २०७९ को बाढीले पुलका चार मुख्य पिलर जोड्ने तीन ओटा स्ल्याब बगाएपछि भने आवागमन पूर्ण रूपमा बन्द भएको कार्यालयले जनाएको छ।


Read Previous

फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’-तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar