Nepal Purbadhar

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन हुने


काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको संख्या र परिमाण बढाउन आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना बनाउन विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’पछि कार्यदल गठन गर्ने निर्णय भएको हो।

कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसहितको कार्यदल गठन गरिने भएको छ। कार्यदलले तीन महिनाभित्र वैद्यखाना विकासका लागि कार्यान्वयनयोग्य खाका तथा कार्ययोजना तयार गर्नेछ।

स्वास्थ्य सल्लाहकार डा. अग्रवालले वैद्यखानाको विकासका लागि जडीबुटीको दिगो संकलनसँगै सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने बताए। तत्काल मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्दै वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउनुपर्ने र आगामी दिनमा विदेशमा समेत निर्यात गर्ने गरी योजना बनाउनुपर्ने उनले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रूपमा प्रयोग हुने जडीबुटी संकलनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए।

उनले कच्चा पदार्थको सदुपयोगका लागि आवश्यक कानुनी सुधार गर्नुपर्ने र औषधिजन्य वनस्पतिको खेतीदेखि संकलन तथा उपभोगसम्म स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए।

गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेदिक औषधिका लागि आवश्यक कच्चा पदार्थको संकलन र उपयोगमा मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने बताए।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी संकलनका लागि सरोकारवाला निकायबीच समन्वय तथा कानुनी स्पष्टता आवश्यक रहेको बताए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउन किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’मा जानुपर्ने बताए। जडीबुटी उत्पादन तथा प्रशोधनमा संलग्न कम्पनीहरूसँग पनि सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक उषा रिजाल जोशीले आयुर्वेदिक औषधि उत्पादनमा कच्चा पदार्थको उपलब्धता मुख्य समस्या रहेको बताइन्। ठूलो परिमाणमा जडीबुटी उत्पादन गर्न सके मात्रै कम्पनीको विकास गर्न सकिने भन्दै उनले कच्चा पदार्थको मूल्य समर्थन निर्धारण गर्नुपर्ने बताइन्।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा उपलब्ध जडीबुटीको संकलन र उपयोगका लागि विद्यमान कानुनमा सुधार आवश्यक रहेको बताए।

वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले जडीबुटी उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानुन परिमार्जन गर्नुपर्ने बताए।

छलफलका क्रममा सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले समितिको वर्तमान अवस्था, समस्या तथा सुधारका सम्भावित उपायबारे प्रस्तुतीकरण दिएका थिए। उनले वैद्यखानाको उत्पादन तथा सञ्चालनमा देखिएका समस्या समाधानका लागि आवश्यक सुझावसमेत प्रस्तुत गरेका थिए।


Read Previous

फिर्केखोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै

Read Next

निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोगको बाटो खुल्यो, प्रतिमेगावाट मासिक ४ लाख १३ हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar