Nepal Purbadhar

पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, पश्चिम खण्डको प्रगति ८६ प्रतिशत


काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको पोखरा-मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। ८१ किलोमिटर लामो सडकको पूर्वी खण्डको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ।

आयोजना कार्यालयका अनुसार जामुने-मुग्लिन खण्डको निर्माण सम्पन्न भई त्रुटि सच्याउने अवधि (डीएलपी) सुरू भएको छ। उक्त खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा ६ लेन तथा अन्य क्षेत्रमा चार लेन सडक निर्माण गरिएको छ।

त्यस्तै, पोखरा-जामुने खण्डको बाँकी काम आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस खण्डमा करिब ५ किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ भने सडक चिह्न, ट्राफिक सङ्केत र सडक सुरक्षा सम्बन्धी काम भइरहेको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक स्तरोन्नति सम्पन्न भएपछि काठमाडौं, चितवन र अन्य स्थानबाट पोखरा आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ। यसले गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।


Read Previous

सुनकोशी–मरिणको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

Read Next

बागलुङका ७ स्थानीय तहमा १५ बेलिब्रिज निर्माण गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar