Nepal Purbadhar

फिर्केखोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै


पोखरा। पोखराको फिर्केखोला किनारमा मापदण्डभित्र निर्माण गरिएका संरचना हटाउने अभियानलाई महानगरपालिकाले बिहीबारदेखि पुनः निरन्तरता दिएको छ। महानगरपालिकाले खोलाको बहाव क्षेत्रभित्र पर्ने ५६ ओटा संरचना भत्काउन सुरू गरेको हो।

कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण केही समय रोकिएको अभियान पुनः सुरू गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए। उनका अनुसार महानगरपालिकाले तीन पटकसम्म पत्राचार गर्दा पनि संरचना हटाउन अटेर गरेपछि डोजर चलाइएको हो।

२०८० सालमा गरिएको नापजाँचका आधारमा फिर्केखोला किनारमा खोलाको मापदण्डभित्र पर्ने १ सय ६० ओटा संरचना पहिचान गरिएको थियो। तीमध्ये गत जेठमा १ सय ४ ओटा अस्थायी तथा केही पक्की घर-टहरा भत्काइएको थियो।

बाँकी रहेका करिब ५६ ओटा संरचनामा पक्की घर तथा संस्थागत संरचना छन्। केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की संरचना समेत परेकाले नापजाँच तथा कानुनी प्रक्रिया मिलाउन समय लागेको महानगरपालिकाले जनाएको छ।

यसअघि भत्काइएका कतिपय संरचनामा मानिसले अझै बसोबास गरिरहेको बताइएको छ।

पोखरा महानगरपालिकाको पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीका अनुसार चालु आर्थिक वर्षभित्र फिर्केखोलाको मापदण्डभित्र रहेका सबै संरचना हटाउने योजना छ। संरचना हटाएर खोलाको क्षेत्र खाली गरेपछि संरक्षणको काम अघि बढाइने उनले बताए।

महानगरपालिकाले गत जेठ १० गतेदेखि फिर्केखोला किनारका संरचना हटाउने अभियान सुरू गरेको थियो। त्यसबेला महानगरले तीन ठाउँबाट एकैसाथ डोजर परिचालन गरी संरचना हटाएको थियो। संरचना हटाउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो।

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी


Read Previous

गल्छी-बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडान हुँदै

Read Next

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar