
सांकेतिक तस्बिर।
काठमाडौं। गण्डकी प्रदेश सरकारले बागलुङका ७ स्थानीय तहमा एकैपटक १५ ओटा बेलिब्रिज निर्माण गर्ने भएको छ। वर्षायाममा खोलामा पानीको बहाव बढ्दा ग्रामीण सडक अवरुद्ध हुने समस्या समाधान गर्न बेलिब्रिज निर्माण गर्न लागिएको हो।
चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण प्रक्रिया अघि बढाइएको छ। प्रदेश सरकारले प्रत्येक पुलका लागि ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिए।
हाल पुल निर्माणस्थलको सर्वेक्षण तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ। डिजाइन र लागत अनुमान तयार भएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ। सबै पुलको निर्माण आगामी २ देखि ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
योजनाअन्तर्गत निसीखोला गाउँपालिकामा ५, ढोरपाटन नगरपालिकामा ४ तथा जैमिनी, काठेखोला, गलकोट, तमानखोला र बडिगाडमा गरी थप ६ ओटा बेलिब्रिज निर्माण गरिनेछ।
बेलिब्रिज निर्माण भएपछि ग्रामीण सडकलाई प्रदेशस्तरीय सडक हुँदै राष्ट्रिय राजमार्गसँग जोड्न सहज हुने र वर्षायाममा यातायात अवरुद्ध हुने समस्या कम हुने अपेक्षा गरिएको छ।

