
काठमाडौं। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै सडकमा सर्वसाधारणको आवतजावत समेत सुरू भएको छ।
रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको यस सडकखण्डमा ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी छ। सडकमा बाक्लो आवतजावत हुँदा निर्माण कार्य प्रभावित भएकाले आवश्यक सहजीकरण गरिदिन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।
ट्रयाक खुलेसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरू गरिएको छ।
यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुवैतर्फको कामलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने तालिकासहित निर्माण कार्य अघि बढाइएको छ।
बाढीबाट क्षतिग्रस्त सडकको ट्रयाक खुलेपछि यातायात आवतजावत सहज हुने अपेक्षा गरिएको छ। ग्रेड मिलाउने, ग्राभेल हाल्ने तथा बेलिब्रिज जडानको काम सम्पन्न भएपछि सडकखण्ड थप व्यवस्थित रूपमा सञ्चालनमा आउनेछ।


