
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र समानान्तर तयारी भइरहेका बेला महाधिवेशन प्रतिनिधि मनोनयन र उम्मेदवारी शुल्कमा समेत दुई पक्षबीच फरक व्यवस्था देखिएको छ ।
गगन थापा नेतृत्वको पक्षले सभापतिले ७५ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था गरेको छ । यसअघि १४औँ महाधिवेशनबाट संशोधित विधानमा सभापतिले ४० जना प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था थियो ।
यता, शेरबहादुर देउवा पक्षले तयार पारेको निर्वाचन निर्देशिकामा सभापतिले ३०० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ ।
दुवै पक्षले महाधिवेशनका लागि छुट्टाछुट्टै निर्वाचन प्रक्रिया अघि बढाएका छन् । गगन थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।
उम्मेदवारी शुल्कमा पनि फरक व्यवस्था गरिएको छ । गगन थापा नेतृत्वको पक्षले केन्द्रीय सभापतिको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकेको छ भने देउवा पक्षले ३० हजार रुपैयाँ तोकेको छ । उपसभापति र महामन्त्रीका लागि क्रमशः ३० हजार र २५ हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि ११ हजार र १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीको शुल्क भने दुवै पक्षले २० हजार रुपैयाँ तोकेका छन् ।
तल्लो तहका पदमा पनि उम्मेदवारी शुल्क फरक रहेको छ । दुई पक्षले प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र तथा स्थानीय तहका पदका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरेका छन् ।

