Nepal Purbadhar

कालीगण्डकी करिडोरमा प्रसारण टावरमा क्षति, केही जिल्लामा विद्युत् सेवा अझै अवरुद्ध


काठमाडौं। अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार म्याग्दीस्थित दाना-कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

क्षति पुगेका स्थानमा पुग्ने बाटो अवरुद्ध भएकाले प्रसारण संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न समस्या भएको प्राधिकरणले जनाएको छ । क्षति पुगेका टावरसहित अन्य क्षेत्रमा समेत स्थलगत निरीक्षण गर्न टोली पठाउने तयारी भइरहेको छ ।

अविरल वर्षाका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेशन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो ।

प्राधिकरणका अनुसार म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेशन र रुकुम पूर्वमा विद्युत् सेवा सुचारु भइसकेको छ ।

त्यस्तै, मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । मनाङमा भने भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ । प्रसारण तथा वितरण संरचनामा पुगेको क्षतिको अवस्थाअनुसार मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने प्राधिकरणले जनाएको छ ।


Read Previous

सेती-मादी र मर्स्याङ्दी करिडोरका आयोजना सञ्चालनमा, राहुघाटमा १० दिन लाग्ने

Read Next

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar