Nepal Purbadhar

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो


काठमाडौं। रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध भएपछि टेलिफोन सेवा निरन्तर सञ्चालन गर्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विद्युत् सेवा बन्द भएपछि टेलिफोन टावर डिजेल जेनेरेटरमार्फत सञ्चालनमा राखिएको थियो । टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था आएपछि टेलिकमले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको हो ।

नेपाल टेलिकमले टिमुरे-खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरेको जनाएको छ । सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।

सोलार प्रणाली सञ्चालनमा आएपछि विद्युत् सेवा उपलब्ध नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सञ्चालन गर्न सहज भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका दूरसञ्चार पूर्वाधार तथा सेवा प्रभावित भएका थिए । टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि दूरसञ्चार सेवा सञ्चालनका लागि जेनेरेटरमा निर्भर हुनुपरेको थियो ।

सोलार प्रणालीबाट टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक ऊर्जा वैकल्पिक रूपमा उपलब्ध भएपछि स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रमा रहेका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने नेपाल टेलिकमले जनाएको छ ।


Read Previous

कालीगण्डकी करिडोरमा प्रसारण टावरमा क्षति, केही जिल्लामा विद्युत् सेवा अझै अवरुद्ध

Read Next

छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय : मन्त्री मेहता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar