
काठमाडौं। बाढीका कारण अवरुद्ध भएका सेती-मादी र मर्स्याङ्दी करिडोरका जलविद्युत् आयोजना सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सेती-मादी करिडोरमा अवरुद्ध २६२ मेगावाट र मर्स्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आएका हुन् ।
बाढीका कारण प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनामा भने क्षति पुगेकाले सञ्चालनमा आउन करिब १० दिन लाग्ने भएको छ । आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा समेत पानी पसेको छ ।
पानी सफा गरी आवश्यक मर्मत गरेपछि आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणले जनाएको छ । आयोजनाको स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ ।
यसैगरी, कुश्मा-दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् प्रसारण हुन नसक्दा उक्त लाइनसँग सम्बन्धित ७ ओटा जलविद्युत् आयोजनाको १९० मेगावाट उत्पादन प्रभावित भएको छ ।
राहुघाट सबस्टेशनमा जोडिएका र बाढीका कारण अवरुद्ध भएका आयोजनामध्ये राहुघाट जलविद्युत् केन्द्रको ४० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन सञ्चालन गर्न सकिने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।
हाल प्रणालीबाट बाहिर रहेका ८ ओटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ ।
यसैबीच, बाढीका कारण बन्द भएको १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्र आज बेलुकासम्म सञ्चालनमा आउने प्राधिकरणले अनुमान गरेको छ ।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त उत्पादन र प्रसारण संरचनाको मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

