
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ । माग-आपूर्ति सन्तुलन कायम गर्न भारतबाट विभिन्न माध्यममार्फत थप १ हजार १५४.८ मेगावाट विद्युत् आयात गर्ने योजना बनाइएको छ ।
प्राधिकरणका अनुसार ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट ६००.८ मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहार र उत्तर प्रदेशका विभिन्न बिन्दुबाट ३५० मेगावाट तथा आरटीसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ ।
आन्तरिक उत्पादन र आयातसमेत गरी आगामी सुख्खायाममा कुल २ हजार ३७२.७७ मेगावाट विद्युत् उपलब्ध हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय विद्युत् मागको औसत उच्चतम स्तर २ हजार २९२ मेगावाट रहेको थियो ।
प्राधिकरणले आगामी मंसिरसम्म थप विद्युत् उत्पादन प्रणालीमा जोडिने अनुमान गरेको छ । मंसिर २०८३ सम्म ३२०.६ मेगावाट क्षमताका नयाँ आयोजना सञ्चालनमा आउने प्रक्षेपण गरिएको छ ।
हाल सञ्चालनमा रहेका आयोजनाबाट ३ हजार ७३९.४ मेगावाट जडित क्षमता रहेकोमा नयाँ आयोजना थपिएपछि मंसिरसम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार ६०० मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ ।
सुख्खायाममा नदीमा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन क्षमतामा कमी आउने भएकाले माग धान्न भारतबाट विद्युत् आयात गर्ने योजना बनाइएको प्राधिकरणले जनाएको छ ।

