Nepal Purbadhar

कालीगण्डकीको बाढीले बागलुङ-पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त, आवतजावत ठप्प


असोज। कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।

बाढीले पुलको पर्वततर्फको पिल्लरमा क्षति पुर्‍याएपछि पुलबाट सवारीसाधन तथा पैदल यात्रुसमेत आवतजावत गर्न नसक्ने अवस्था भएको हो।

स्थानीयका अनुसार कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पिल्लरमा बाढीको प्रत्यक्ष दबाब परेको हो। करिब एक महिनाअघि नै नदीको कटानका कारण पुल जोखिममा परेको थियो। पुलको छेउको जमिनसमेत नदीले कटान गरेपछि त्यस क्षेत्रमा त्रिपाल राखिएको थियो।

आइतबार बिहान आएको बाढीले पुलमा थप क्षति पुर्‍याएपछि आवतजावत पूर्णरूपमा बन्द भएको हो।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन्।

मालढुंगा पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालतर्फ जाने सवारीसाधनसमेत प्रभावित भएका छन्।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


Read Previous

कुलेखानी जलाशयको पानी पहिलो चेतावनी तहमा पुग्ने अनुमान, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

Read Next

मनाङमा हिमपहिरो घट्टे खोला थुनियो, दर्जन बढी बेपत्ता भएको आशङ्का, सेतीवेणीका २६ घर डुबानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar