Nepal Purbadhar

कुलेखानी जलाशयको पानी पहिलो चेतावनी तहमा पुग्ने अनुमान, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता


काठमाडौं। कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ।

आज दिउँसो २ बजे गरिएको मापनअनुसार जलाशयको जलसतह १५२६.४९ मिटर पुगेको छ। हालको पानीको बहाव र जलसतह वृद्धिदरका आधारमा आज साँझ करिब ६ देखि ७ बजेसम्ममा जलसतह १५२७.०० मिटर, अर्थात् पहिलो चेतावनी तहमा पुग्न सक्ने अनुमान गरिएको छ।

मौसममा क्रमिक सुधार हुँदै गएको र थप ठूलो वर्षा हुने सम्भावना न्यून रहे पनि जलाधार क्षेत्रमा आज राति वा भोलिसम्म अप्रत्याशित रूपमा भारी वर्षा भएमा जलाशयको सुरक्षा तथा जलसतह सन्तुलन कायम राख्न बाँधका मुख्य गेट (Spillway Gates) खोल्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ।

गेट खोल्नुपर्ने अवस्था आएमा मुख्य बाँधको तल्लो तटीय क्षेत्र, विशेषगरी सिस्नेरी खोला तथा बागमती नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित निकायले नदी तथा खोला किनारमा नजान र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन स्थानीयलाई अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राखी प्राविधिक टोली फिल्ड तथा कन्ट्रोल रुममा पूर्ण तयारीका साथ परिचालन गरिएको छ। गेट खोल्नुपर्ने अवस्था आएमा पूर्वनिर्धारित चेतावनी प्रणालीअनुसार दोस्रो तथा तेस्रो चरणका साइरन बजाइनेछ।

त्यसैगरी, सम्बन्धित क्षेत्रका बासिन्दा तथा सरोकारवालालाई SMS मार्फत समेत सूचना प्रवाह गरिने जनाइएको छ।

सम्बन्धित निकायले सबैलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा जारी हुने सूचना र चेतावनीको पालना गर्न आग्रह गरेको छ।


Read Previous

पहिरो, बाढी र रुख ढल्दा गण्डकीका पाँच जिल्लामा विद्युत् सेवा अवरुद्ध, कहाँको अवस्था के छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar