Nepal Purbadhar

भारी वर्षाको जोखिम र सरकारी तयारी, नदीको रियल टाइम निगरानीदेखि सुरक्षा निकाय परिचालनसम्म

फाइल तस्बीर।


काठमाडौं। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेपछि सरकारले बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना तथा प्रतिकार्यको तयारी तीव्र बनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीको जलसतह र वर्षाको अवस्था रियल टाइममा निगरानी गर्ने जनाएको छ। सम्भावित जोखिमबारे घण्टा-घण्टामा पूर्वसूचना अद्यावधिक गरिनेछ भने आवश्यक अवस्थामा मोबाइलमा एसएमएस अलर्ट पठाइनेछ।

प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा ओर्लिन र ट्राभल एजेन्सीलाई नयाँ बुकिङ नगर्न आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै शुक्रबार र शनिबार अतिआवश्यकबाहेक यात्रा नगर्न आग्रह गर्ने तयारी गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

भारी वर्षाबाट कृषि क्षेत्रमा क्षति हुन सक्ने भन्दै खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज जोगाउन किसानलाई पनि आग्रह गरिएको छ।

यसैबीच, बाढीको समयमा भिडियो खिच्न, सामाजिक सञ्जालका लागि सामग्री बनाउन वा बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा नपस्न प्राधिकरणले आग्रह गरेको छ।

सम्भावित विपद्को प्रतिकार्यका लागि देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमको अवस्था र जोखिमको निगरानी तथा प्रतिकार्यको तयारी भइरहेको प्राधिकरणले जनाएको छ।


Read Previous

बाढी प्रभावितको संरक्षण र पुनःस्थापनामा सरकार-आईएफआरसी सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

Read Next

पत्रकारिताको विश्वसनीयता जोगाउन निर्मम आत्मसमीक्षा आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar