
विद्युत् लाईन मर्मत गर्दै प्राधिकरणका कर्मचारी, सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर।
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीलाई उपचार खर्च र विनियमावलीअनुसारको क्षतिपूर्तिबापत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका-१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा ०८२ चैत ११ गते करेन्ट लागेर घाइते भएका थिए।
विद्युत् दुर्घटनामा घाइते भएका मगरलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। उनको उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत घाइते कर्मचारीलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले बताए।
