
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
बुधबार असोज ७ गते सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएका हुन्।
उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहेको शाहले बताएका छन्।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानसँगै सडक तथा हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन्।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

