
काठमाडौँ। कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा-काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।
पृथ्वी राजमार्गबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिएका छन्। जसका कारण पछिल्लो एक सातादेखि हेटौँडा-काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, कान्ति राजमार्गलगायत सडकमा सवारीको चाप बढेको हो।

सवारीको चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि काठमाडौँ-हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रूट तोकेको छ।
१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। हेटौँडाबाट काठमाडौँतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौँ आउने रूट तोकिएको छ। त्यसैगरी काठमाडौँबाट हेटौँडातर्फ जाने सवारी फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी मार्गबाट सञ्चालन भइरहेका छन्।

साँघुरा पहाडी सडकमा एकैपटक ट्रक, बस तथा अन्य सवारीसाधनको चाप बढेपछि यात्रुले लामो समयसम्म जाममा बस्नुपर्ने अवस्था छ। सवारी चापले नियमित आवागमनसँगै काठमाडौँका लागि अत्यावश्यक वस्तु, ग्यास तथा खाद्यान्नलगायत सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।
कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात तथा ग्यास, खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनसमेत वैकल्पिक मार्गका रूपमा हेटौँडा-काठमाडौँ सडक प्रयोग गरिरहेका छन्।
सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा-काठमाडौँ सडक यात्रा सवारी चापका कारण अहिले पाँच घण्टासम्म लम्बिएको छ।

तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी
