
काठमाडौं । कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग तत्काल सञ्चालनमा ल्याउन वैकल्पिक मार्ग निर्माणदेखि टनेल वा पुल निर्माणसम्मका विकल्पबारे छलफल भएको छ ।
यातायातलाई तत्कालै सञ्चालनमा ल्याउने र दीर्घकालीन समाधान खोज्ने तयारी गरिएको हो । पहिरो प्रभावित स्थानमा पुरानै संरचनाअनुसार सडक निर्माण गर्न कठिन भए दीर्घकालमा सो क्षेत्रलाई छाडेर टनेल वा पहिरोको पारिपट्टिबाट बाइपास गरी सडक निर्माण गर्ने विकल्प अघि सारिएको छ।
प्रस्तावित वैकल्पिक सडक धेरै चौडा नबनाई करिब ६ मिटर मात्रै चौडाइमा निर्माण गर्ने निर्णय भएको छ । यसबाट तत्काल यातायात सञ्चालनमा ल्याउने उद्देश्य राखिएको छ।
पहिरो नियन्त्रणका लागि माथिल्लो भागमा राखिएका ग्याबियन संरचनाका विषयमा समेत प्राविधिक टोलीसँग छलफल भएको छ । उक्त क्षेत्रमा तीनदेखि छ लेयरसम्म ग्याबियन संरचना छ । तीन लेयर ग्याबियन हटाएर सडक खोलिनेछ ।
जियोटेक्निकल टोलीसँग छलफल गरी यस्तो निर्णय गरेको हो । पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले यो निर्णय गरेको हो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले पनि उक्त निर्णय स्वीकार्दै सडक निर्माण अघि बढाइने बताए । अहिले जियोटेक्निकलसहितको टोलीले डिजाइनको काम थालिसकेको छ। अब तत्काल यातायात सञ्चालन र दीर्घकालीन रूपमा सुरक्षित सडक निर्माणका लागि टनेल, पुल वा बाइपासमध्ये उपयुक्त विकल्प अघि बढाउने तयारी छ । एकसाताभित्रै राजमार्ग खुलाउने योजना छ ।
काठमाडौं उपत्यकाको लाइफलाइन मानिएको पृथ्वीराजमार्ग भासिएर अवरुद्ध बनेको छ ।
कृष्णभीर सडक भासिएका कारण काठमाडौं आउने र जानेहरुलाई रोकिएका छन् ।
