
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव छ।
डा. श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन्।
नेपाल मेडिकल काउन्सिलसँग पनि उनको लामो समयदेखि संलग्नता रहेको छ। उनी सन् २०१४ देखि २०१६ सम्म काउन्सिलको पदेन सदस्य तथा सन् २०१९ देखि २०२३ सम्म मनोनीत सदस्यका रूपमा कार्यरत थिए।
काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।
