Nepal Purbadhar

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित, केहि क्षेत्रमा अझै बाँकी, चार्जिङ जारी


काठमाडौँ। नुवाकोट जिल्लामा बाढीका कारण प्रभावित विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित हुँदै गएको छ। चपली-देवीघाट दायाँ सर्किट चार्ज भएपछि जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको छ।

हाल नुवाकोटको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। आपूर्ति पुनःस्थापनासँगै विद्युत् सेवा पहिलेभन्दा थप भरपर्दो हुनुका साथै भोल्टेजमा समेत सुधार आएको बताइएको छ।

चपली-देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर-६, विदुर-१२ को बाँकी क्षेत्र, विदुर-३ को करिब आधा क्षेत्र, तारकेश्वर गाउँपालिकाका वडा नं. १, ५ र ६ तथा वडा नं. २ र ३, बेलकोटगढी-७ लगायतका क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको छ। यस क्रममा थप ३१ ओटा ट्रान्सफर्मर समेत चार्ज गरिएको छ।

यी क्षेत्रमा अझै विद्युत् पुग्न बाँकी

हालसम्म विदुर-३ को बाँकी आधा क्षेत्र, तारकेश्वर-४, किस्पाङ गाउँपालिका, बेलकोटगढी-८ र विदुर-१० मा विद्युत् आपूर्ति पुनःस्थापित हुन बाँकी छ। ती क्षेत्रमा पनि चार्जिङ तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम जारी रहेको छ।

यस्तो छ प्रमुख विद्युत् आपूर्ति मार्ग

नुवाकोट तथा आसपासका क्षेत्रमा विभिन्न प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको छ।

६६ केभी चपली-देवीघाट-१ बाट त्रिशूली नदी पार गरी विदुरको करिब आधा क्षेत्र तथा किस्पाङतर्फ विद्युत् आपूर्ति भइरहेको छ।

त्यस्तै, ६६ केभी चपली-देवीघाट-२ बाट विदुरको अधिकांश भाग, बट्टार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ।

६६ केभी बालाजु-त्रिशूली-१ बाट कालिका सबस्टेशनमार्फत रसुवाको धुन्चे, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकातर्फ विद्युत् आपूर्ति भइरहेको छ।

६६ केभी बालाजु-त्रिशूली-२ बाट चौघडा सबस्टेशनको सम्पूर्ण क्षेत्र तथा समुन्द्रटार सबस्टेशन क्षेत्रतर्फ विद्युत् आपूर्ति भइरहेको छ।

यसैगरी, धादिङबेँसीबाट आएको ३३ केभी लाइनमार्फत रातमाटे सबस्टेशन चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ।

समग्रमा नुवाकोटको विद्युत् प्रणाली करिब ९० प्रतिशत पुनःस्थापित भइसकेको छ। पुनःस्थापनासँगै विद्युत् आपूर्तिको स्थिरता र भोल्टेजको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ। बाँकी क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालनमा ल्याउन चार्जिङ तथा पुनःस्थापनाको काम निरन्तर भइरहेको छ।


Read Previous

कृष्णभीर पहिरो:तत्काल ग्याबिन हटाएर सडक खोलिने, वैकल्पिक सडकदेखि टनेलसम्मको योजना

Read Next

आयु सकियो, फेरि ‘झर्‍यो कृष्णभीर…’ (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar