Nepal Purbadhar

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति : मन्त्री पौडेल


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवाको भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार बसेको बैठकमा रसुवा बाढीले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे जानकारी दिँदै मन्त्री पौडेलले पर्यटन व्यवसाय, पूर्वाधारमा भएको क्षति र त्यसले भविष्यमा पार्न सक्ने आर्थिक असरसमेतलाई आधार बनाएर उक्त अनुमान गरिएको बताए।

उनका अनुसार बाढीपहिरोबाट १४२ ओटा होटल, ५७ ओटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ ओटा सवारीसाधन क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा रहेका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको उनले जानकारी दिए।

पदमार्गमा क्षति, वैकल्पिक बाटो खोज्नुपर्ने

मन्त्री पौडेलका अनुसार लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथली पदमार्गमा क्षति पुगेको छ। ती पदमार्ग पुनः सञ्चालनका लागि वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था रहेको उनले बताए।

प्रभावित क्षेत्रलाई पर्यटन मन्त्रालयमार्फत ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए। त्यस क्षेत्रमा संग्रहालय, स्मारक, पार्क वा अन्य संरचना निर्माण गर्ने विषयमा सरोकारवालासँग छलफल गरेर निर्णय गरिने उनले बताए।

विपद् आउनुअघि सूचना दिने प्रविधि आवश्यक

जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्नुपरेको बताए।

उनले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायले आवश्यक सहयोग र प्रविधि उपलब्ध गराउनुपर्नेमा जोड दिए। हिमाली क्षेत्रमा रहेका हिमताल तथा हिमनदीको जोखिमलाई ध्यानमा राख्दै विपद् आउनुअघि सूचना दिन सक्ने आधुनिक प्रविधि नेपालमा आवश्यक रहेको उनले बताए।

विश्वका विभिन्न मुलुकमा प्रयोग भइरहेका त्यस्ता प्रविधि नेपालमा भित्र्याउन अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्ने उनले जानकारी दिए।

पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिनुपर्ने

मन्त्री पौडेलले विपद्का कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जान नदिन अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी सञ्चार आवश्यक रहेको बताए।

नेपाल सुरक्षित रहेको र पर्यटन उद्योग पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश विश्वभर पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले भने, “प्राकृतिक विपत्ति संसारका जुनसुकै ठाउँमा हुन सक्छ। यसले नेपालको पर्यटन उद्योगलाई भत्काउन सक्दैन। हामी अझै उभिएका छौँ र पर्यटकलाई स्वागत गर्न तयार छौँ।”

रसुवा बाढीमा कति विदेशी पर्यटक बेपत्ता भए भन्ने यकिन विवरण अन्तिम तथ्याङ्क आएपछि मात्र थाहा हुने उनले बताए।

पर्यटकका परिवारलाई सहजीकरण गर्न डेस्क

प्रभावित पर्यटक तथा उनीहरूका परिवारलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आवश्यक अन्य स्थानमा ‘डेस्क’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री पौडेलले जानकारी दिए।

यस विषयमा विभिन्न मन्त्रालय तथा सम्बन्धित देशका दूतावाससँग समन्वय भइरहेको उनले बताए।

बाढीपहिरोका क्रममा उद्धार तथा राहतमा नेपाली हवाई कम्पनी र हेलिकप्टर व्यवसायीले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै उनले त्यसलाई राष्ट्रप्रतिको योगदानका रूपमा हेरिने बताए।

त्यस्तै, पोखरा, चितवन र काठमाडौंलगायतका स्थानका होटल व्यवसायीले प्रभावितलाई निःशुल्क बसोबास तथा खानाको व्यवस्था गरेकोमा उनले धन्यवाद दिए।

पर्यटन क्षेत्रमा कार्यरत श्रमिकसँग सम्बन्धित कल्याणकारी कोष परिचालन गर्ने निर्णय भएको उनले बताए। बाढीमा परी बेपत्ता भएका व्यक्तिको यकिन विवरण नहुँदा बीमा दाबीमा आउन सक्ने जटिलताबारे अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिए।

राष्ट्रिय विपत्तिका बेला राजनीतिक मतभेदभन्दा माथि उठेर नेपाली समाज एकताबद्ध हुने गरेको उल्लेख गर्दै मन्त्री पौडेलले यसपटक पनि उद्धार तथा राहतमा त्यही सामाजिक एकता देखिएको बताए।


Read Previous

कृष्णभीरको अवरुद्ध सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको दाबी

Read Next

‘शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन, हामी लागिरहेका छौँ’ : प्रधानमन्त्री शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar