
Drone shot view of traffic jam at Krishnabhir. Photo: Prakash Chandra Timilsena/ Nepal photo library
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड यही महिनाभित्र सञ्चालनमा ल्याइने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मुग्लिङ-नौबिसे सडक खण्डअन्तर्गत पर्ने कृष्णभीरमा पहिरो र सडक भासिएपछि अवरुद्ध सडकलाई पहिरो पन्छाएर तथा सडक पुनर्निर्माण गरी यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिए।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि कृष्णभीरमा पहिरो खसेको थियो। सडक अवरुद्ध भएपछि यस खण्डको पुनःनिर्माणमा लामो समय लाग्न सक्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री शाहले चालु महिनाभित्रै सडक सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्।
कृष्णभीर सडकखण्ड अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन्। सडक सञ्चालनका लागि सरकारले वैकल्पिक मार्ग तथा आवश्यक व्यवस्थापनमा समेत काम गरिरहेको जनाएको छ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभालाई रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षति तथा सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे समेत जानकारी गराएका थिए।
