Nepal Purbadhar

तिब्बती क्षेत्रमा पुनः ताल फुट्यो, त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी क्षेत्रमा शुक्रबार लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई तत्काल उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। जोखिमको अवस्था देखिएमा सुरक्षित स्थानतर्फ जानसमेत अनुरोध गरिएको छ।

यसैबीच, तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएको भन्दै नेपाल प्रहरीले पनि अलर्ट जारी गरेको छ। प्रहरीले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट थुनिएको ताल फुटेको जानकारी आएको बताए।

उनले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको ठूलो ताल फुटेको जानकारी आएको हो। छोचेन खोला र पुरेपू त्रिशूली नदीका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्।

प्राधिकरणले नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्नसमेत आग्रह गरेको छ।


Read Previous

त्रिशुली थ्री ए को भुमीगत पावर हाउसमा प्राधिकरणका ३५ कर्मचारी थुनिए, उद्दार हुन नसक्दा जीवन जोखिममा

Read Next

टिचिङ अस्पतालमा आफन्तको खोजीमा घण्टौँदेखि कुरिरहेका छन् रसुवा बाढीपीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar